बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • निर्वाचन आयोगले सरकारसँग माग्यो सात अर्ब आठ करोड
आर्थिक

निर्वाचन आयोगले सरकारसँग माग्यो सात अर्ब आठ करोड

निर्वाचन आयोगले बुधबार अर्थ मन्त्रालयलाई पत्राचार गर्दै आयोगको आर्थिक कार्यविधिअनुसार निर्वाचनको तयारी, सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक पर्ने रकम निकासाका लागि माग गरेको छ ।

निर्वाचन आयोग ऐन, ०७३ को दफा २७ र २८ अनुसार निर्वाचनको तयारी, सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक पर्ने रकम सात अर्ब सात करोड ९४ लाख ८० हजार रुपैयाँ निकासा गरिदिन मन्त्रालयलाई पत्राचार गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

आयोगले विगतका निर्वाचनमा भएका खर्चभन्दा मितव्ययी हुने गरी कोभिड– १९ को महामारीसमेतलाई ध्यानमा राख्दै सोसँग सम्बन्धित सुरक्षा सतर्कता र न्यूनतम सुरक्षा व्यवस्थाका लागि मात्रै आयोगले ३७ करोड ४१ लाख ७४ हजार रुपैयाँ खर्चको प्रस्ताव गरेको छ ।

‘महामारीमा अपनाउनुपर्ने स्वास्थ्य सतर्कतासमेतलाई ध्यान दिई निर्वाचन सञ्चालन आर्थिक कार्यविधि तयार गरिएको छ,’ प्रवक्ता श्रेष्ठले भने ।

उनले थप भने ,‘नयाँ सामग्री, उपकरण र सवारीसाधन खरिद गर्ने गरी बजेटमा कार्यक्रम राखिएको छैन, निर्वाचनको काममा आयोग, ७७ वटै जिल्ला निर्वाचन कार्यालय, एक सय ६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय र मतदान केन्द्रमा खटिने कर्मचारी न्यूनतम संख्यामा रहने व्यवस्था गरेका छौँ,’।

आयोगले विगतका निर्वाचनमा प्रयोग गरी हाल मौज्दातमा रहेका मतपेटिकालगायत विभिन्न उपकरण र सवारीसाधनहरू मर्मत गरी प्रयोग गर्ने व्यवस्था गरिएको जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु