बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • रामेछापकी एक युवती सरकारी कर्मचारीवाट योनदुर्व्यवहारमा “युवतीले पाइनन् न्याय”
दुर्घटना/अपराध

रामेछापकी एक युवती सरकारी कर्मचारीवाट योनदुर्व्यवहारमा “युवतीले पाइनन् न्याय”

काठमाडौँ —

भूकम्पले घर ढल्यो । ढलेको घर उठाउन ऋणपान गर्नुपर्‍यो । ऋणको किस्ता तिर्न बाआमालाई सघाउन उनी रामेछापबाट काठमाडौं आइन् । कक्षा १० पास गरेकी उनले काम खोज्ने क्रममा गत वर्ष सिनामंगलस्थित एक सरकारी कर्मचारीको घरमा काम पाइन् । प्रतिदिन दुई घण्टाका दरले काम गर्दा मासिक ६ हजार रुपैयाँ पाउने भइन् ।

‘हाम्रो घरको आर्थिक स्थिति निकै कमजोर छ, बिहान १/२ घण्टा मिलाउँदै अरूको घरमा भाँडा माझ्ने, सरसफाइ गर्न थाले,’ उनले सुनाइन्, ‘हरेक महिना १८ हजार रुपैयाँ किस्ता जम्मा गर्नुपर्थ्यो ।’

हरेक बिहान काम गर्न जान्थिन् तर केही दिनपछि असहज लाग्न थाल्यो । ‘त्यहाँको अंकलले मलाई नराम्रो नजरले हेर्न थाल्नुभयो, एक दिन बलात्कार प्रयास भयो,’ उनले भनिन् । उनले अंकल भनी बोलाउने गरेका व्यक्ति मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेल हुन् ।

घटनाको केही समय काममा नगएपछि पोखरलेकी श्रीमतीले बोलाइन् । उनी गएपछि पोखरेलले कोही नभएको मौकामा माफी मागे । एकचोटि भनेर उनले माफी दिइन् । केही समय सुध्रिएका पोखरेलले फेरि त्यस्तै हर्कत दोहोर्‍याए । ‘दोस्रो पटक ममाथि जे भयो, त्यो बलात्कारभन्दा फरक छँदै थिएन,’ उनले जुनेली मिडीया संग भनिन् । उनलाई मानसिक तनाव बढ्न थाल्यो । आफूमाथि यौन दुर्व्यवहार भइरहेको कुरा पोखरेलकी श्रीमतीलाई सुनाइन् ।

‘अब अन्तिम मौका दे, कहिले यस्तो गर्दिनँ, कसैलाई नभन् भनेर मसँग हात जोडेर माफी माग्नुभो, तँ छोरीजस्तै हो, मेरो बुद्धि बिग्रिएको थियो भनेर बिन्ती गर्नुभयो,’ पीडितले भनिन्, ‘मैले उहाँको परिवारलाई हेरेर अन्तिम पटकलाई भनी छोडें ।’ एक दिन काममा जान ढिला भएको थियो । पोखरेलले फोन गरेर ‘किन नआएको छिटो आऊ’ भनेर बोलाए । उनलाई शंका लाग्यो र आफ्नो बचाउका लागि गेटबाटै मोबाइलमा क्यामेरा ‘अन’ गरिन् । उनको शंका सही रहेछ, पोखरेलले तेस्रोचोटि उही हर्कत दोहोर्‍याए । उनको फोनमा कैद गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा उनी चिच्याएको सुनिन्छ भने जबर्जस्त पोखरेलविरुद्ध प्रतिवाद गरेको देखिन्छ । उनले भिडियो पोखरेलकी श्रीमतीलाई पनि पठाएकी थिइन् ।

आन्टीले भने मैले फसाउन लागेको भन्नुभयो, जबकि मेरो प्रमाण नै एक थाक भइसकेका छन्,’ उनले भनिन् । यसपछि पोखरेलका परिवार र आफन्तले पीडितलाई फोन गर्दै घटना सार्वजनिक नगर्न आर्थिक प्रलोभन देखाए । नमानेपछि डरधम्की देखाउन थाले । उनको पिछा गर्दै पोखरेल पक्ष डेरामै आउन थाले । रामेछापमा बाआमालाई फोन गरेर मिल्न दबाब दिए । उनमा तनाव बढ्दै गयो ।

यस विषयमा आरोपित पोखरेलसँग सम्पर्क हुन सकेन । श्रीमतीले भने श्रीमान्को बचाउ गर्दै पीडितमाथि नै दोष थोपरेकी छन् । ‘भिडियो बनाएको दिन माथिको तलामा आएर उभिएकी थिई, सर (पोखरेल) पानी खान जानुभएको हो, छोइएको छैन, भिडियोमा सबै उसैको इसारा छ, भिडियो खिचेको सरले थाहा पाउनु भएनछ, म त्यो दिन भुइँ तलामै थिएँ,’ श्रीमतीले भनिन्, ‘योजनाबद्ध फोटो भिडियो बनाइसकेपछि मात्रै मलाई भनी । सुरुमा आर्थिक समस्या भयो भन्न सकिन । यौन दुर्व्यवहार भएको घरमा कोही आउँछ ? त्यो भिडियो बनाइसकेर पनि पाँच/सात दिन काम गर्न आएकी थिई ।’

असह्य भएपछि पीडित असार १७ मा पिंगलास्थानस्थित माइती नेपाल कार्यालय गइन् । माइती नेपालले महानगरीय प्रहरी वृत्त गौशालामा पठायो । असार १८ गते जाहेरी लिएर वृत्त पुगिन् तर प्रहरीले जाहेरी लिन मानेन । टेकु प्रहरी र कालीमाटी महिला सेलले पनि झुलाइरहे । ‘मेरो मोबाइल पुलिसलाई दिनुपर्ने, कुन फोनबाट भिडियो खिचेको हो, भिडियो खिचेको समयमा म भएको लोकेसन ट्र्याक गर्ने अनि मात्रै जाहेरी दर्ता गर्ने भन्नुभयो,’ उनले भनिन्, ‘पीडितले बयान दिएपछि कारबाही अघि बढ्छ भन्ने मलाई थाहा थियो । तर, मसँग प्रमाण हुँदा पनि उजुरी दर्ता भएन ।’

आफूलाई न्यायको प्रत्याभूत हुन नसकेपछि उनले टिकटकमा भिडियो पोस्ट गरिन् । उनले सामाजिक सञ्जालबाट साथ, सहयोग र समर्थन पाइन् । साउन ५ गते जिल्ला प्रहरी परिसर काठमाडौं (टेकु) मा जाहेरी दर्ता भएको छ । साउन ८ गते जिल्ला अदालत काठमाडौंले पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । तर, पोखरेलले साउन ५ मै उच्च अदालत पाटनबाट आफूलाई पक्राउ नगरिनुपर्ने अन्तरिम आदेश लिइसकेका छन् ।

पोखरेलले उनीविरुद्धमा दिएको निवेदनमा उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डेको एकल इजलासबाट ‘फौजदारी प्रकृतिको विवादमा कानुनबमोजिम जाहेरी लिई कारबाही गर्नुपर्ने प्रकृतिको दायित्वको विषयमा बाहेक निवेदक र विपक्षीबीचको देवानी प्रकृतिको व्यक्तिगत सम्बन्धको विवादको विषयलाई लिएर निवेदकलाई पक्राउ नगर्नू नगराउनू’ भनी अन्तरिम आदेश जारी भएको छ । आफ्नो पीडालाई संवेदनशील ढंगले नलिएर उच्च अदालत पाटनले उल्टो पीडकको पक्षमा आदेश दिएको पीडितको गुनासो छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले अदालतबाट पक्राउ गर्ने अनुमति पाइसकेकाले जबर्जस्ती करणी मुद्दाअन्तर्गत आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको बताए । माइती नेपालकी कानुन अधिकृत उमा तामाङले पीडितको बयान सुनेपछि गौशाला प्रहरीमा पठाएको बताइन् । ‘पीडितले हामीलाई आधा मात्रै सूचना दिइन्, सुन्दाखेरि व्यक्तिवादी फौजदारी मुद्दा आकर्षित हुने लागेर प्रहरीमा पठाएका हौ,’ उनले भनिन् ।

आफू न्याय माग्न गृह मन्त्रालयसमेत पुगेको उनको भनाइ छ । तर, जाहेरी फिर्ता लिन चौतर्फी दबाब आइरहेको उनले बताइन् । ‘मैले न्यायका लागि प्रहरी प्रशासन धाउन थालेको असार १७ गतेदेखि हो, पक्राउ पुर्जी जारी गरेर पनि किन पक्राउ गर्न नखोजेको हो, भगाउन खोजेको हो कि,’ उनले भनिन्, ‘मलाई पिछा गर्न, धम्क्याउन छाडेका छैनन्, मेरा सबुद प्रमाण मेटाउने प्रयास भइरहेको छ । मलाई पैसा होइन, न्याय चाहिएको छ ।’

बलात्कार आरोप लागेपछि पोखरेल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयबाटै सम्पर्कविहीन भएका छन् । आयोजनाका सूचना अधिकारी सुरजहरि अधिकारीले असार अन्तिमदेखि नै बिदामा बसेको बताए । ‘हामीले फोन गर्दा पनि उहाँको फोन लागिरहेको छैन, कहिले अफिस आउनुहुन्छ भन्ने पनि जानकारी छैन,’ उनले भने ।

फेसबुक प्रतिक्रियाहरु