मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • प्रदेशसभा बैठक राख्ने बारे नेकपाको दुई समूहबीच अझै सहमति जुट्न सकेन
समाचार

प्रदेशसभा बैठक राख्ने बारे नेकपाको दुई समूहबीच अझै सहमति जुट्न सकेन

२५ माघ,

बिराटनगर । प्रदेश–१ को प्रदेशसभा बैठक राख्ने बारे नेकपाको दुई समूहबीच अझै सहमति जुट्न सकेको छैन । बैठक अगाडि वार्तामा बसेका दुवै समूहका नेताहरुले आ–आफ्नो अडान छोड्न नमानेपछि बिना सहमति उठेका छन् ।

प्रचण्ड–माधव समूहका नेताहरुले कम्तिमा आइतबार बैठक राखेर मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पेश गरिनुपर्ने अडान छाडेनन् । तर, ओली समूहका नेताहरुले भने आइतबार निर्धारित बैठक सूचना टाँसेर स्थगित गर्ने र छलफल अगाडि बढाउने प्रस्ताव राखेका थिए ।

बैठक १८ दिन स्थगित भइसकेकाले अब मुख्यमन्त्रीविरुद्ध परेको अविश्वासको प्रस्ताव टेबल गरेर अगाडि बढ्नुपर्ने अडान प्रचण्ड–माधव समूहको छ । ‘कम्तिमा आजको बैठकमा अविश्वासको प्रस्ताव टेवल गरौं भन्ने हो । बरु, त्यसपछि छलफल गर्न सकिन्छ’, वार्तामा सहभागी प्रचण्ड–माधव समूहका नेता राजेन्द्र राईले भने ।

तर, यसमा ओली समूह तयार भएनन् । दुवै समूहले आफ्नो अडान नछोडेपछि वार्ता बिना निष्कर्ष सकिएको हो ।

वार्तामा ओली समूहबाट आन्तरिक मामला मन्त्री रहेका हिक्मत कार्की र बिमल कार्की सहभागी थिए भने प्रचण्ड–माधव समूहबाट राजेन्द्र राई, इन्द्र आङ्बो र लक्ष्मण तिवारी सहभागी थिए । बैठक बस्नेबारे कार्यव्यवस्था परामर्श समितको बैठकमा पनि दुवै समूहले यही अडान राखेका छन् ।

फेसबुक प्रतिक्रियाहरु