सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • प्रदर्शन तथा तोडफोडमा उत्रिएका १८८ आन्दोलनकारी पक्राउ
समाचार

प्रदर्शन तथा तोडफोडमा उत्रिएका १८८ आन्दोलनकारी पक्राउ

माघ २२, काठमाडौं | नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले गरेको हडतालका कारण आज मुलुकभरको जनजीवन प्रभावित भएको छ । राजधानी काठमाडौँमा ट्याक्सी र मोटरसाइकल लगायत साना सवारी बाहेक ठूला सवारी भने सञ्चालन हुन सकेन । बजार पसल पनि दिनभर बन्द नै रह्यो ।

राजधानी बाहिर भने उपत्यकामा जस्तो बन्दको ठूलो प्रभाव नपरेको र धेरै जिल्लाबाट सुरक्षा सतर्कताका साथ ढुवानी र यात्रुबाहक सवारी काठमाडौँ भित्रिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार आज साविकको तुलनामा झन्डै ४५ प्रतिशत सवारी सञ्चालन भएका छन् ।

बन्दका क्रममा सवारी सञ्चालन गरेको भन्दै बन्दकर्ताले बिभिन्न ठाउँमा तोडफोड र आगजनी समेत गरेका थिए । प्रहरीका अनुसार मुलुकभर गरेर एउटा गाडीमा आगजनी गरिएको र ८६ वटा गाडीमा तोडफोड भएको छ । जसमध्य तीन वटा सरकारी गाडी रहेका छ ।

आज देशभरबाट थुप्रै आन्दोलनकारी नेता-कार्यकर्ता समेत प्रहरी नियन्त्रणमा परेका थिए । प्रदर्शन तथा तोडफोडमा उत्रिएका १८८ आन्दोलनकारी पक्राउ परेका र छानबिनपछि ४० जनालाई छाडिएको प्रहरी प्रवक्ता कुँवरले जानकारी दिए । अन्यको विषयमा भने अनुसन्धान भइरहेको जनाइएको छ ।

गृह मन्त्रालयले भने शान्ति सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जबर्जस्तीलगायत अवाञ्छित गतिविधिमा संलग्न हुनेविरुद्ध आवश्यक कानूनी कारवाही गरिने जनाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु