बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • पशुपतिनाथको मूर्तीलाई भन्दा जनतालाई खुसी पार्न प्रधानमन्त्रीलाई रघुजी पन्तको सुझाव
समाचार

पशुपतिनाथको मूर्तीलाई भन्दा जनतालाई खुसी पार्न प्रधानमन्त्रीलाई रघुजी पन्तको सुझाव

२८ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता रघुजी पन्तले नबोल्ने पशुपतिनाथको मूर्तीलाई भन्दा जनतालाई खुसी पार्न सुझाव दिएका हुन् । उनले जनता बोल्ने पशुपति भएकाले तिनलाई खुसी पार्न सुझाएका छन् ।

प्रतिनिधिसभा विघटनपछि पशुपतिनाथको दर्शन गर्न गएकोप्रति व्यङ्ग्य गर्दै नेता पन्तले यस्तो बताएका हुन् । पन्तले सधै सम्बोधन गर्दा सम्बोधनको अन्तिममा पशुपतिनाथले सबैको कल्याण गरुन भन्ने वीरेन्द्र र ज्ञानेन्द्रलाई जोगाउन नसकेको पशुपतिनाथले ओलीलाईसमेत नजोगाउने दाबी गरेका हुन् ।

‘प्रधानमन्त्री केपी ओली धेरैपछि पशुपतिनाथ जानुभयो । रुद्राक्षको माला लगाएर निस्कनुभयो । त्यहाँ गएर के बरदान माग्नु भयो थाहा छैन । एक अर्ब लाग्ने पशुपतिको जलारी राख्न २० करोड निकास अहिले नै गर्ने बताउनुभयो’, पन्तले राजाहरुलाई सम्झदै भने, ‘मलाई राजा वीरेन्द्रको सम्झना भयो । बोल्दा अन्तिममा उनी सधै पशुपतिनाथले हामी सबैको कल्याण गरुन् भन्थे । सधैँ पशुपतिनाथले गुहार्ने राजा वीरेन्द्रको वंश नाश भयो । पशुपतिले कल्याण गरेनन् । राजा ज्ञानेन्द्रले सम्बोधनमा अन्तिममा पशुपतिनाथले कल्याण गरुन भन्थे । पशुपतिनाथले राम्रै कल्याण गरे नारायणहिटीबाट नागार्जुन पुर्यायो ।’

नेता पन्तले राजा वीरेन्द्रको वंश र राजा ज्ञानेन्द्रको गद्दी जोगाउन नसक्ने पशुपतिनाथले केपी ओलीलाई जोगाउन नसक्ने बताएका हुन् ।

‘पशुपतिले कृपा गर्ने भए वीरेन्द्रको वंश नाश हुने थिएन । सधैँ पशुपति गुहार्ने ज्ञानेन्द्रले गद्दी छोडेर जानु पर्ने थिएन’, उनले भने, ‘ओलीजी सुन्नुहोस् ! त्यहा नबोल्ने पशुपतिनाथको मूर्ती होइन यहाँ बोल्ने पशुपतिनाथहरुलाई खुसी बनाउनुहोस् । जो यहाँ उपस्थित छन् ।’

फेसबुक प्रतिक्रियाहरु