जुनेली न्युज, ०८ बैशाख काठमाडौँ |
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमण बढिरहेको भन्दै नेपालमा पनि सतर्कता अपनाउन अनुरोध गरेको छ |
मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरेर संख्यात्मक रूपमा संक्रमण केही कम भएको जस्तो देखिए पनि महामारीको जोखिम कायम नै रहेको जनाएको छ | “वर्तमान अवस्थामा संक्रमणको जोखिम कायमै रहेकाले संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन र संवेदनशील भई जनस्वास्थ्यको मापदण्ड पालना गर्न र गराउन हुन सम्बन्धित निकायलाई अनुरोध गरिन्छ” विज्ञप्तिमा उल्लेख गरिएको छ |
मन्त्रालयले कोरोनाविरुद्धको खोप लगाउन बाँकी सबैले ढिला नगरी नजिकैको खोप केन्द्रमा गई खोप लगाउन र पूर्ण मात्रा खोप लगाएकाले खोप लगाएको ३ महिना पूरा भए पश्चात बुस्टर मात्रा लगाउन पनि अनुरोध गरेको छ |
फेसबुक प्रतिक्रियाहरु