जुनेली न्युज,१४बैशाख |
म्यानमारकी नोबेल शान्ति पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई भ्रष्टाचार मुद्दामा एक अदालतले पाँच वर्षको जेल सजाय सुनाएको छ |
द न्युयोर्क टाइम्सका अनुसार ७६ वर्षीया सुकीलाई ६ लाख डलर बराबरको नगद र २५ पाउन्ड जति सुन घुस लिएको भन्दै बुधबार पाँच वर्ष जेल सजाय हुने फैसला गरिएको हो |
यसअघि पनि उनलाई गैरकानुनी रूपमा वाकीटकी राखेको भन्दै चार वर्ष जेल सजाय सुनाइएको थियो |
त्यसअघि सेनाविरूद्ध नागरिकलाई भड्काएको, कोभिड-१९ रोकथामका मापदण्ड उल्लंघन गरेको आरोपमा पनि अदालतले उनलाई दोषी ठहर गरेको थियो |
२०२१को फेब्रुअरी १ मा म्यानमारको सेनाले जननिर्वाचित सरकारलाई अपदस्त गरेर सुकीलाई नियन्त्रणमा लिएको थियो। त्यसयता उनी सार्वजनिक रूपमा देखिएकी छैनन् भने उनका मुद्दाको बन्द कोठाभित्र सुनुवाइ भइरहेको छ |
सैनिक कूभन्दा केही महिनाअघि २०२०को नोभेम्बरमा भएको आमचुनावमा सुकीको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)ले बहुमत ल्याएको थियो | चुनावमा धाँधली भएको भन्दै सेनाले सत्ता हत्याएको थियो | आफूले निष्पक्ष चुनाव गराउने सेनाको भनाइ थियो |
सेनाले कू गरेपछि नागरिले सैनिक शासनको प्रतिरोध गरिरहेका छन् | प्रदर्शनका क्रममा भएका दमनमा अहिलेसम्म कम्तीमा १८ सय भन्दा बढी मानिस मारिएका छन् |
फेसबुक प्रतिक्रियाहरु