बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • १९ वर्षीया स्वस्तीका महत कांग्रेसको १४औं वडा अधिवेशनबाट वडा सभापतिमा निर्वाचित
समाचार

१९ वर्षीया स्वस्तीका महत कांग्रेसको १४औं वडा अधिवेशनबाट वडा सभापतिमा निर्वाचित

जुनेली न्यूज, काठमाण्डौ | १९ वर्षीया स्वस्तीका महत कांग्रेसको जारी १४ औं वडा अधिवेशनबाट वडा सभापतिमा निर्वाचित भएकी छन् । दैलेखको दुल्लु नगरपालिका–३ कि स्वस्तीकाका बुवा पनि नेपाली कांग्रेस दैलेखका उपसभापति थिए । उनको दुई वर्षअघि मृत्यु भएको थियो ।
पारिवारिक माहोल र त्यसमाथि पनि बुवा नै कांग्रेसको जिल्ला उपसभापति भएपछि उनको राजनीतिमा चासो तथा लगाव सानैदेखि थियो । ‘बुवाको राजनीतिबाट समाज परिवर्तन गर्ने लक्ष्य थियो, उहाँको सपना पूरा गर्नका लागि स्वास्थ्यकर्मीको बाटो छोडेर राजनीतिमा होमिएकी हुँ।’, जीतपछि उनले भनिन् ।
उनले आफूलाई विश्वास गरेर वडा सभापतिमा विजयी गराउने सम्पूर्ण क्रियाशील सदस्यलाई धन्यवाद दिँदै पार्टीको हित र भलाइका लागि दिनरात लागिपर्ने बताइन् ।
१९ वर्षमै कांग्रेसको वडा राजनीतिको कमान सम्हाल्ने ‘चुनौती’ लिएकी स्वस्तिका यसलाई अवसरको रुपमा लिएर अघि बढ्ने बताउँछिन् । ‘वडा सभापतिमा निर्वाचित हुँदा निश्चय नै खुसी त लाग्ने नै भयो । यससँगै काँधमा राजनीतिक जिम्मेवारी पनि थपिएको छ । अब म जिल्ला, प्रदेश वा केन्द्रभन्दा पनि वडा/नगर कांग्रेसलाई नै कसरी चुस्त दुरूस्त रुपमा अगाडि बढाउने भन्नेबारे केन्द्रित हुनेछु,’ स्वस्तिका परिपक्व निष्कर्ष सुनाउँछिन् ।
जिल्लाका कांग्रेस नेता तथा दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारी कांग्रेस र सिङ्गो राजनीतिमा युवा सहभागिता बढाउने उद्देश्यले नै स्वस्तिकालाई सर्वसम्मत गरिएको बताउँछन् । ‘कांग्रेसमा पाका मात्र नेतृत्वमा भए भनेर आलोचना पनि हुँदै आएको छ,’ भण्डारीले भने, ‘हामीले अल्लि फरक गरौँ भनेर यसो गरेका हौँ । यो चाहिँ उहाँ (स्वस्तिका) निर्वाचित भएको भन्ने मात्र विषय होइन, सिङ्गो कांग्रेसपङ्ति र नेपाली राजनीतिलाई नै एउटा उदाहरण हो ।’

स्वस्तिका सभापति बन्नुले कांग्रेस बूढापाकाहरुको मात्रै होइन भन्ने सन्देश त दिएको छ नै सँगै समग्र नेपाली राजनीतिमै नयाँ र सकारात्मक सन्देश दिएको छ ।

फेसबुक प्रतिक्रियाहरु