शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • दार्चुला घटना छानबिन गर्न गृहमन्त्रालयका सहसचिव जनार्दन नेपाल नेतृत्वको टोली दार्चुलामा
दुर्घटना/अपराध

दार्चुला घटना छानबिन गर्न गृहमन्त्रालयका सहसचिव जनार्दन नेपाल नेतृत्वको टोली दार्चुलामा

जुनेली न्यूज, काठमाण्डौ। महाकाली नदी तर्दै गरेका नेपाली युवक भारतीय पक्षले तुइन चुडाइदिंदा खसेर बेपत्ता भएको घटना छानबिन गर्न गृहमन्त्रालयका सहसचिव जनार्दन नेपाल नेतृत्वको टोली दार्चुला पुगेको छ ।

१५ साउनमा व्यास गाउँपालिका-२ का जयसिंह धामी महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले डोरी चुडाइदिएपछि उनी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । सो घटना छानबिन गर्न टोली मंगलबार जिल्ला आइपुगेको दार्चुला प्रहरी प्रमुख डीएसपी मनोहरप्रसाद भट्टले जानकारी दिएका छन् । सत्यतथ्य पत्ता लगाइ प्रतिवेदन बुझाउन १० दिनको समय पाएको उक्त टोलीले मंगलबार घटनास्थलसम्म कसरी जाने ?घटनाको छानबिन कसरी गर्ने ?? लगायतका विषयमा स्थानीय अधिकारीहरुसँग छलफल गरेको थियो ।

टोलीले धामी तुुइन तर्ने क्रममा घटनास्थलमा रहेका प्रत्यक्षदर्शीसँग समेत भेट गर्नेछ भने घटनास्थलमै पुुगेर अध्ययन पनि गर्नेछ । ‘घटनास्थलसम्म के-कसरी पुुग्न सकिन्छ भन्ने कुरा भएको छ,’ डीएसपी भट्टले बताए | भट्टले भने ‘बाटोघाटो नभएका कारण पैदल हिंडेरै भएपनि टोली त्यहाँ पुुग्छ । अनुुकूल मौसम भए हेलिकप्टरको प्रयोग गर्ने विकल्पमा पनि छलफल भएको छ ।’

प्रत्यक्षदर्शीका भनाइमा भारतीय एसएसबीले तुुइन तर्ने क्रममा रुखमा बाँधेको फलामे डोरी फुकालिदिएपछि धामी नदीमा खसेर बेपत्ता भएका थिए । घटना भएको पाँच दिन बित्दा समेत उनको अवस्था अज्ञात छ । जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीले उनको खोजी कार्य जारी राखेको छ ।

धामीका परिवारले भने उनी जीवितै भेटिने आशा मार्दै कुशको आकृति बनाएर हिन्दू  संस्कारअनुसार अन्त्येष्टि गरेको छ । धामीका श्रीमती, पाँच वर्षीय छोरा र डेढ वर्षकी छोरी छन् |

फेसबुक प्रतिक्रियाहरु