आइतवार, भदौ २८, २०८३
  • होमपेज
  • जोरपाटीमा न्युटन इन्टरनेशनल कलेजको भव्य ‘ग्राण्ड एनुअल प्रोग्राम’ सम्पन्न
Breaking News

जोरपाटीमा न्युटन इन्टरनेशनल कलेजको भव्य ‘ग्राण्ड एनुअल प्रोग्राम’ सम्पन्न

जुनेली न्युज, काठमाडौँ

गोकर्णेश्वर नगरपालिका–जोरपाटीस्थित न्युटन इन्टरनेशनल कलेजद्वारा आयोजना गरिएको ‘ग्राण्ड एनुअल प्रोग्राम’ भव्य तथा आकर्षक रूपमा सम्पन्न भएको छ। काठमाडौँको पूर्वी भेगकै उत्कृष्ट कलेजको रूपमा परिचित उक्त कलेजले आफ्नो वार्षिक कार्यक्रम सिलिकन पार्टी प्यालेसमा आयोजना गरेको हो।

कार्यक्रममा शैक्षिक, सांस्कृतिक तथा समसामयिक विषयहरू समेटिँदै विद्यार्थीहरूको विविध प्रतिभा प्रस्तुत गरिएको थियो। दिनभर सञ्चालन भएको कार्यक्रममा नृत्य, संगीत, नाटक लगायतका सांस्कृतिक प्रस्तुतीहरूले दर्शकको मन जितेका थिए।

उक्त अवसरमा लामो समयदेखि सेवा प्रदान गर्दै आएका शिक्षकहरूलाई सम्मान गरिएको थियो भने नवप्रवेशी विद्यार्थीहरूलाई स्वागत गरिनुका साथै विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले नीय तहमा सञ्चालित निजी तथा सामुदायिक दुवै खाले शैक्षिक संस्थाहरूको सुधार आवश्यक रहेको उल्लेख गर्दै नगरपालिकाले शिक्षा क्षेत्रमा सहकार्य, सहयोग तथा नजिकबाट सुपरीवेक्षण गरिरहेको जानकारी दिए।

कलेजका अध्यक्ष तथा नेपाली सेनाका पूर्व प्रधानसेनापति प्यारजंग थापाले देशभित्रै रोजगारी र उद्यमशीलताको विकास गर्ने खालको शैक्षिक वातावरण आवश्यक रहेको बताए। उनले स्थानीय तहबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै गुणस्तरीय तथा प्रविधिमैत्री शिक्षालाई प्राथमिकतामा राखिएको स्पष्ट पारे।

त्यसैगरी कलेजका प्रिन्सिपल दीपेश आचार्यले वर्तमान समयअनुसार दक्ष, सक्षम तथा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न कलेज प्रतिबद्ध रहेको उल्लेख गर्दै गुणस्तरीय र समयसापेक्ष शिक्षामा जोड दिइएको बताए।

कार्यक्रममा विभिन्न शैक्षिक संघ–संस्थाका प्रतिनिधि, स्थानीय शिक्षाकर्मी, अभिभावक तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यार्थीहरूको आकर्षक सांस्कृतिक प्रस्तुतीहरूले कार्यक्रमलाई अझ जीवन्त र मनोरञ्जनात्मक बनाएको थियो।

कलेजले कक्षा ११ र १२ देखि स्नातक तथा स्नातकोत्तर तहसम्म (BBS, BSW, BA, MA in MCJ तथा Development Communication) का विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु