चैत्र ११,
रामेछाप । रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकामा गत शनिबार करदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
सरोकारवाला निकाय लिखु तामाकोशी गाउँपालिका, रामेछाप उद्योग वाणिज्य संघ र करदाता सेवा कार्यालय रामेछापको संयुक्त रुपमा आयोजित कार्यक्रममा कर अधिकृत विनोद प्रसाद आचार्यले सहजिकरण गरेका थिए ।
सहजिकरणमा करमा दर्ता हनुपर्ने अवस्था, विवरण पेश गर्ने समय र अवस्था, विवरण पेश नगरेमा कानुन वमोजिम लाग्ने व्याज शुल्क आदिको बारेमा प्रट्याइएको थियो । यसैगरी छुट सुविधाहरुमा आर्थिक ऐन २०७७ ले प्रदान गरेको छुट, कोभिड १९ को कारण आ.व २०७६÷०७७ को लागि सरकारले प्रदान गरेको छुट र कर कानुनले व्यवस्था गरेका प्रावधानहरुको बारेमा पनि आचार्यको प्रस्तुतिमा समेटिएको थियो ।
कार्यक्रमका अध्यक्ष समेत रहेका रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशव घिमिरेले मन्थली नगरपालिका भित्रका व्यवसायीहरुलाई चैत्र ११ देखि १३ गते सम्म कर सम्बन्धी ३ दिने तालिम आयोजना गर्न लागिएको जानकारी गराउँदै व्यवसायी सवैले करमा दर्ता भई राज्य प्रतिको दायित्व पूरा गर्न आग्रह गरे ।
अन्तरक्रिया कार्यक्रममा करिव ९४ जना व्यवसायी तथा स्थानीयहरुको सहभागिता रहेको थियो । आगामी दिनमा सवै स्थानीय तहमा करदाता शिक्षा कार्यक्रम संचालन गर्ने करदाता सेवा कार्यालय रामेछापले जनाएको छ । यस अघि कार्यालयले मन्थली नगरपालिका, रामेछाप नगरपालिका, गोकुलगंगा गाउँपालिकामा करदाता शिक्षा कार्यक्रम संचालन गरिसकेको छ ।
फेसबुक प्रतिक्रियाहरु