बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • आज वीपी कोइरालाको १०७ औं जन्म जयन्ती
समाचार

आज वीपी कोइरालाको १०७ औं जन्म जयन्ती

भदौ २४,

काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको १०७ औँ जन्म जयन्ती आज। कोरोना भाइरसको संक्रमण र जोखिमका कारण औपचारिक कार्यक्रम प्रभावित भएका छन्। नेपाली कांग्रेसले वीपीको जन्म जयन्ती ३ दिने भर्चुअल कार्यक्रम गरी मनाउने भएको छ। केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा आज जारी विज्ञप्तिमा कोरोना प्रतिकूलताबाट सुरक्षित रहँदै वीपीको जन्म जयन्ती मनाउन आग्रहसमेत गरिएको छ।

केन्द्रिय तहबाट हुने ३ दिने भर्चुअल कार्यक्रमअन्र्तगत भोलि दिउँसो १ बजे ‘वीपीको विचार नेपालको समुन्नतिको मुल बाटो’ शीर्षकमा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने बताइएको छ। नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको जन्म विक्रम संवत् १९७१ भदौ २४ गते भएको थियो।

जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानु परेको थियो। भारत निर्वासनकै क्रममा उहाँको नेतृत्वमा विक्रम संवत् २००३ मा नेपाली राष्ट्रिय काँग्रेसको स्थापना भएको थियो ।

प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्ण शम्शेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र काँग्रेसका बीच एकता भएपछि २००७ सालको क्रान्ति सफल भयो। दुवै दल एकीकृत भई बनेको नेपाली काँग्रेस अहिले पनि संसदमा प्रमुख प्रतिपक्षी दलका रुपमा क्रियाशील छ। क्रान्तिको सफलतापछि मोहन शम्शेरको नेतृत्वमा बनेको राणा–काँग्रेस सरकारमा वीपी गृहमन्त्री बनेका थिए। २०१५ सालको आमनिर्वाचनमा कांग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेपछि उनी प्रथम जननिर्वाचित प्रधानमन्त्री बने।

उनको प्रधानमन्त्रीत्व कालमा बिर्ता उन्मूलन गरी भूमिसुधार कार्यक्रम लागू भएको थियो । तर विसं २०१७ पुस १ गते जननिर्वाचित सरकार अपदस्थ गरिएपछि कोइराला लगायतका नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो। सुन्दरीजल बन्दी गृहमा राखिएका विपी विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त भएपछि आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताएका थिए। २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उनी स्वदेश फर्किएका उनकाे क्यान्सर रोगबाट विसं २०३९ साउन ६ गते निधन भएको थियो।

फेसबुक प्रतिक्रियाहरु