शनिबार, बैशाख ८, २०८१
समाचार

मातृशक्तिको प्रतीक : गौरा

गौरा मातृशक्तिको प्रतीक हो; काली, लक्ष्मी तथा सरस्वतीको प्रतिमूर्ति हो । पूर्वीय धर्मसंस्कृतिमा शक्तिका रूपमा विभिन्न देवीहरूलाई वैदिककालदेखि स्वयम् दिव्यशक्ति भएका देवताहरूबाट पनि पूजिँदै आएका प्रसङ्गहरू विभिन्न पौरस्त्य दर्शनहरूमा भेट्न सकिन्छ । यिनै विभिन्न देवीशक्तिको आराधना गर्ने परम्पराकै निरन्तरताको एक नमुना गौरापूजा पनि हो ।

गौरा र महेश्वर नचाउँदाको दृश्य (फोटोस्रोत : यज्ञराज उपाध्याय)

भाद्र प्रतिपदादेखि (शुक्ल वा कृष्णपक्ष) द्वादशी, त्रयोदशी, कहीँ पूर्णिमा सम्म मनाइने गमरा वा गौरापर्व डोटीलगायत नेपालको सुदूरपश्चिममा मनाइने प्रसिद्ध चाड हो । भारतका कुमाउ, गडवाल, कान्यकुब्ज, गुजरातका साथै नेपालका सुदूरपश्चिमेलीहरू बसाईँ सरी गएका काठमाडौँका कालिका स्थान, कोटेश्वर, टुँडीखेल, कलङ्की, कीर्तिपुर लगायत अन्य स्थानहरूमा पनि सुदूरपश्चिमवासीले गौरा पर्व मनाउने गर्दछन् । यस पर्वमा विशेष गरी शिव–पार्वतीको पूजा गरिन्छ र प्रसादको रूपमा महिलाले दूबोधागो (सातवटा विशेष किसिमको गाँठो जस्तै बनाइएको मन्त्रित डोरो) लाउने तथा पञ्चबिरूडा (केराउ, गुराउँस, कलौँ, चना, सेल्टु,),कहीँ मटर र मकै समेत गरी सात किसिमका बिरुडा, आदि आपूm लिने र सबैलाई बाँड्ने चलन छ ।

अतः यस विषयको जानकारी राखी सुदूरपश्चिम क्षेत्रको स्थानीय समयानुसारको उदयास्तको समेत ख्याल गरी गौरापर्व मनाउनु पर्छ र संस्कृतिको संरक्षण बलियो गरिनु आजको आवश्यकता देखिन्छ

अगत्स्य क्रृषि÷तारा उदय भएपछि दूर्वाष्टमी नमनाउनु भन्ने शास्त्रीय कथनानुसार यो गौरापर्व कहिले भाद्रकृष्णमा र कहिले भाद्रशुक्लपक्षमा पर्ने गर्दछ । अगत्स्योदय प्रायः भदौ १९ वरपर हुने गर्दछ । अगत्स्योदय भइसकेपछि गौराको व्रतोपवाश निषेध गरिएको हुनाले भाद्रकृष्ण या भाद्रशुक्ल हरेक वर्ष निर्णय गर्नु पर्ने हुन्छ ।  यस विषयमा हामीले शास्त्रीय नियमको पालना गरी एकरुपता कायम गर्नु जरुरी छ । आर्ष पद्धतिअनुसार “श्रावणी पूर्णिमात्पूर्वं नतुदूर्वाष्टमी व्रतम्..” अर्थात् श्रावणी पूर्णिमाअगाडि र अगस्ति तारा उदयपछि गौरा÷दूर्वाष्टमी व्रत नगर्नु भन्ने वचन पाइन्छ । अतः यस विषयको जानकारी राखी सुदूरपश्चिम क्षेत्रको स्थानीय समयानुसारको उदयास्तको समेत ख्याल गरी गौरापर्व मनाउनु पर्छ र संस्कृतिको संरक्षण बलियो गरिनु आजको आवश्यकता देखिन्छ ।

श्रीमद्देवीभागवतका अनुसार एकजना हैह्यवंशी कार्तवीर्य नामको राजा जसलाई सहस्त्रबाहु या सहस्त्रार्जुन पनि भनिन्छ, ती राजा निकै दानी थिए । उनले धेरै ब्राह्मणहरूलाई निमन्त्रणा गरेर प्रशस्त दान दिने गर्दथे । दानी राजाको देहान्तपश्चात उनका छोराहरू कुकर्मी, दुराचारी, निर्धन र मदिरासेवी हुन पुगे । अत्यन्त निर्धन भएका कारणले आफ्ना बुवाले दान गरेको धन दान लिएका ब्राह्मणहरूसँग फिर्ता माग्न थाले । ब्राह्मणहरूले दानमा पाएका धन फिर्ता दिन नमानेर जमिनमुनि गाडेर लुकाए । राजकुमारले धन लुकाएको पत्ता पाएपछि बुवाबाट दान लिएका लोभी ब्राह्मणहरूलाई मारी ब्राह्मणीहरूसँंग धन माग्न थाले । ब्राह्मणीहरूले धन दिन नमानेपछि ब्राह्मणीहरूलाई लखेटी मार्न थाले ।आफ्नो श्रीमान् छोराछोरी मारीसकेको र आफ्नो ज्यानसमेत खतरामा पुगेको देखि आर्तस्वरमा ब्राह्मणीहरूले–

  • जयदेवी जगन्मातः जगदानन्दकारिणी ।
  • त्राही मां देवदेवेशी गौरादेवी नमोस्तुते ।।

भनी गौरीदेवीको स्तुति गर्न थाले । यस्ता अनेक शब्दद्वारा गरेको स्तुतिबाट माता गौरी प्रकट भई सूर्यको जस्तो तेजस्वी बालक भुइमा खसालिन् । लखेटिरहेकी ब्राह्मणीमध्ये एकजना गर्भवती थिइन गर्भ पूरा नहुँदै माता गौराको अनुग्रहले त्यो बच्चाले जन्म लिनेबित्तिकै कुकर्मी राजकुमारहरूका आखाँ फुटेर अन्धा भए र जहाँका त्यँही रोकिए । ब्राह्मणीहरूलाई मार्नका निम्ती लखेटिरहेकाहरू ठूलो स्वरले रुन थाले र ब्राह्मणीहरूसित क्षमा माग्दै प्रार्थना गर्न थाले । माताको कोमल हृदयका कारण दुष्ट राजाहरूलाई अपराध क्षमा गरेर अबदेखि यस्तो कुकर्म नगर्नु भनेर बिदा गरिदिइन् । तिनै गर्भ पूरा नहुँदै बाह्मणीका जङ्घाबाट जन्मेका बाह्मणले माता भगवतीको करूणा प्राप्त गर्न यो गौरापर्वको शुरूवात् गरेको कथा पाइन्छ ।

गौरापर्वका अवसरमा चैत र घरडेउडाको प्रस्तुति : दृश्य
गौरापर्वका अवसरमा चैत र घरडेउडाको प्रस्तुति : दृश्य

यस चाडमा प्रमुख रूपमा गौरी र महेश्वरको मूर्ति बनाएर पूजा गर्ने गरिन्छ । यो पार्वतीको मूर्ति धान, सावाँ÷साउँ, अपामार्ग, बलु, तिल आदिका बोटहरू ल्याएर बेउलीको रूपमा सिँगारी मूर्ति बनाइन्छ र काठको पिर्का जस्तो सफा टुक्रालाई सिँगारेर महेश्वरको रूपमा पूजा गर्न गाउँको मुख्य घर जहाँ सधैँ गमरा राखिन्छ, त्यसै ठाउँमा स्थापना गरिन्छ । यसरी सप्तमीमा ल्याएर स्थापना गरेको गौराको मूर्ति अष्टमीमा सञ्जा(सौता)सहित पूजा गरी धुमधामसँग गौरामहेश्वरको विवाह सम्पन्न गरिन्छ, साँझपख गौरालाई आँगनमा ल्याई नचाउने र पञ्चबिरुडा, विविध फलफूल राखेर अठेवाली खेलिन्छ ।

पञ्चबिरुडा केलाउँदादेखि लिएर गौरा सेलाउँदासम्म महिलाहरू विविध प्रसङ्गका छुट्टाछुट्टै फाग–मागल, चैत, धमारी, घरडेउडाहरू गाउँछन् भने पुरूषहरू पनि चैत, धमारी, भोलाउलो, डेउडा आदि खेल खेल्ने गर्दछन् । आफ्नो छुट्टै मौलिकता र नेपाली संस्कृतिको धरोहर मानिने यो गौरापर्व सुदूरपश्चिमवासीकोे संस्कृति र परम्पराको आधार नै हो । यस चाडमा प्रायः सबैजसो जातिको समान सहभागिता हुन्छ । सबैले सँगै गाउने, नाच्ने गर्दछन् । बीच–बीचमा राति राक्षसका मुकुण्डा लगाई लाखेनाच पनि नचाउने प्रचलन छ । कुनै किसिमको जातीयता वा वर्गीयताको प्रभाव देखिदैन । यसरी बन्धुत्वको भावनाका साथ धुमधामसँग मनाएर अन्तिम दिनका राति तुलसीको चैत खेली पूर्णिमामा गौराको मूर्ति निश्चित शुद्ध स्थानमा लगेर विविध लोकगीत तथा भजनका साथ बिसर्जन गरिन्छ । यसरी विविध लोकसँस्कृतिले भरिपूर्ण यो पर्व करीब एक हप्तासम्ममा समापन हुने गर्दछ । यसै अवसरमा सम्पूर्ण सनातन संस्कृति–प्रेमीप्रति हार्दिक शुभकामना पनि ।

  • यसका लेखक पूर्णानन्द ओझा, डोटीबाट 

फेसबुक प्रतिक्रियाहरु