शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • चितुवाको छाला र चोरीको मोटरसाइकलसहित रामेछापको सुनापतिका ४ सहित ७ जना पक्राउ
रामेछाप बिशेष

चितुवाको छाला र चोरीको मोटरसाइकलसहित रामेछापको सुनापतिका ४ सहित ७ जना पक्राउ

चोरी गर्नेहरु पक्राउ

साउन २८,

भक्तपुर । चितुवाको छाला र चोरीको मोटरसाइकलसहित रामेछापको सुनापाती गाउँपालिका-५ का ४ सहित ७ जना पक्राउ परेका छन् । उनीहरुलाई भक्तपुर प्रहरीले चाँगुनारायण नगरपालिका-८ सुडालबाट ४ र सूर्यविनायक नगरपालिका-८ दार्जिलिङ हाइटबाट ३ गरी पक्राउ गरेको हो । उनीहरुलाई गत मंगलबार साँझ पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामेछापको सुनापाती गाउँपालिका-५ घर भई हाल भक्तपुर सुडाल बस्ने १९ वर्षीय कुमार लामा, १७ वर्षीय फुसाङ तामाङ, १८ वर्षीय हिमाल लामा र २१ वर्षीय पासाङ तामाङ छन् ।

त्यसैगरी भक्तपुरको सुर्यविनायक-८ दार्जलिङ हाईटबाट काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका-९ का २२ वर्षीय संजिव सिंजाली मगर, काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-१० का २४ वर्षीय दीपेश तामाङ र काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-५ का २३ वर्षीय मिलन मगर पक्राउ परेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

परिसरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (प्रनाउ) दीपक गिरीका अनुसार सुडालस्थित एक स्थानीयको घरमा डेरा गरी बस्ने युवाहरूले जंगली जनावरको छाला लगायतका चिजबस्तुहरू अवैध रुपमा राखी खरिदबिक्री तथा ओसारपसार गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले मंगलबार साँझ छापा मारेको थियो ।  महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी अपराध महाशाखा भक्तपुरको संयुक्त टोलीले सुडालबाट कालोमा खैरो र सेतो रंगको पाटे चितुवाको सुख्खा छाला एक थानसहित चार जनालाई पक्राउ गरिएको उपरीक्षक गिरीले बताए।

अनुसन्धानका क्रममा चितुवाको छालासहित पक्राउ परेका चार जनाको बयानको आधारमा प्रहरीले सूर्यविनायकको दार्जिलिङ हाइटबाट थप तीन जनालाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट बा ९० प ६५१० नं. २२० सीसीको पल्सर मोटरसाइकल फेला परेको र उक्त मोटरसाइकल भक्तपुर नगरपालिका-९ का प्रजु सुवालको चोरी गरी लगेको भन्ने खुल्न आएको प्रनाउ गिरीले जानकारी दिए। साथै, प्रहरीले उनीहरूको साथबाट विभिन्न कम्पनीका मोबाइल ९ थान, सवारी चालक अनुमती पत्र २ थान, मोटरसाइकलका नम्बर प्लेट ४ थान, मोटरसाइकलको लक १ थान र बा ९० प ६५१० नं. मोटरसाइकलको बिल बुक १ थान समेत बरामद गरेको छ। पक्राउ परेका सातै जनालाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय भक्तपुरमा पठाएको प्रनाउ गिरीले बताए।file Photo

फेसबुक प्रतिक्रियाहरु