बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • रुसले काेराेनाविरुद्धकाे खाेप बनायाे : पुटिन
समाचार

रुसले काेराेनाविरुद्धकाे खाेप बनायाे : पुटिन

कोरोना खोप

साउन २७,

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले कोरोना भाइरसविरुद्धको खोप विकास गरेर प्रयोगमा ल्याएको दाबी गर्नु भएको छ । पुटिनले कोरोनाविरुद्धको खोप आफ्ना दुई छोरीलाई लगाएको र उनीहरुलाई कुनै ‘साइड इफेक्ट’ नदेखिएको बताएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पुटिनले आज खोपको विकास गरी दर्ता भएको जानकारी दिनुभएको हो । कोरोनाविरुद्धको खोप दर्ता गर्ने रुस पहिलो राष्ट्र बनेको छ । रुसका अधिकारीहरुले यो खोप डाक्टर, स्वास्थ्यकर्मीसहित मेडिकल कर्मचारी, शिक्षक र अरु उच्च जोखिममा रहेका वर्गमा दिइने जनाएका छन् ।

समाचार एजेन्सी एजेन्सी एएफपीकाे जानकारी अनुसार याे खाेप मस्काेकाे गामेल्या इन्स्टिच्युटले बनाएकाे हाे । रुसी राष्ट्रपति पुटिनले रुसमा चाँडै नै याे खाेपकाे उत्पादन सुरु गर्ने र ठूलाे सङ्ख्यामा खाेपकाे डाेज बनाउने बताउनुभएकाे छ ।

अब यदि रुसले गरेकाे दाबी सही साबित भएर विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले खाेपलाई मञ्जुरी दियाे भने विश्वकाे लागि याे एउटा ठूलाे राहत साबित हुन सक्छ ।

अहिले विश्वभर नै काेराेना भाइरसविरुद्धकाे खाेप बनाउनकाे लागि कैयाैँ ठाउँमा परीक्षण भइरहेकाे छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार झण्डै सयभन्दा धेरै खाेप बनाउनकाे लागि काम भइरहेकाे छ । जसमा अमेरिका, बेलायत, इजरायल, चीन, रुस, भारत जस्ता देश सामेल छन् ।

रुसमा अहिलेसम्म आठ लाख ९७ हजार पाँच सयभन्दा धेरैमा कोरोनाकाे सङ्क्रमण पुष्टि भएकाे छ । कोरोनाका कारण त्यहाँ १५ हजार एक सयभन्दा धेरैको मृत्यु भएकाे छ । कोरानाकाे कारण विश्वमा सबैभन्दा धेरै प्रभावित भएको देशको सूचीमा रुस चौथो स्थानमा छ ।

फेसबुक प्रतिक्रियाहरु