शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • शिक्षासेवी अंगुरबाबा जोशीको निधन
शिक्षा

शिक्षासेवी अंगुरबाबा जोशीको निधन

काठमाडौँ — प्रसिद्ध शिक्षासेवी तथा समाजसेवी अंगुरबाबा जोशीको ८९ वर्षको उमेरमा शनिबार निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित जोशीको उपचारको क्रममा महाराजगन्जस्थित न्यूरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

नेपालको छात्रा शिक्षालाई जोशीको महत्वपूर्ण योगदान रहेको छ । उनकै अगुवाईमा काठमाडौंमा पद्म कन्या (पीके) क्याम्पसको जग्गा व्यवस्था र क्याम्पस स्थापना भएको हो । उक्त क्याम्पसमा पढ्ने छात्राले पहिरिने पोशाक गेरु रंगको सारी र चोला जोशीले लागू गरेकी थिइन् ।

जोशीको जन्म सन् १९३२ अगस्ट १५ मा काठमाडौंको डिल्लीबजारमा भएको थियो । जोशीको कलिलै उमेरमा नेपालका पहिलो आणविक वैज्ञानिक बलराम जोशीसँग विवाह भएको थियो । त्यसपछि शिक्षाआर्जन गरेकी थिइन् ।

२००७ सालमा एसएलसी उत्तीर्ण गरेकी जोशीले पतिसँगै वनारसबाट राजनीति शास्त्र र संस्कृत विषयमा बिए शिक्षा हासिल गरेका थिए । त्यसपछि बेलायतबाट ब्यारिस्टर (कानुनमा अधिवक्ता) बन्ने पहिलो महिला हुन् । साथै क्याम्पस प्रमुख बन्ने पहिलो नेपाली महिला हुन् ।

जोशीका दुई छोरी प्रभा र ज्योति, एक छोरा किरणराज तथा बुहारी रुपा जोशी र १०७ वर्षकी सासुआमा चन्द्रकुमारी जोशी छन् । जोशीको शनिबार पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु