शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • ११ शव र २४३ यात्रुसहित मलेसियाबाट उडेको जहाज काठमाडौं आइपुग्दै
समाचार

११ शव र २४३ यात्रुसहित मलेसियाबाट उडेको जहाज काठमाडौं आइपुग्दै

काठमाडौँ — मलेसियाबाट ११ शवसहित २ सय ४३ जना यात्रु लिएर नेपाल एयरलायन्सको जहाज उडेको छ । जसमा ४ गर्भवतीसहित ११ जना महिला छन् ।

मलेसियाको क्‍वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार ४:२० मा उडान उडेको राजदूत उदयराज पाण्डेले जानकारी दिए । मलेसियाबाट उडेको यो दोस्रो उडान हो । यो विमान ६:३० बजे काठमाडौं आइपुग्‍नेछ । अधिकांश यात्रुको टिकट रोजगारदाता कम्पनी आफैंले बेहोरेको छ । करार अवधि समाप्त भएर स्वदेश फिरेका बख्खनसिंह गुरुङले टिकटको रकम कम्पनीले नै उपलब्ध गराएको बताए । उडानमा १५ जना बिरामी पनि छन् ।

उच्च रक्तचापको कारण पक्षघात भइ चार महिनादेखि उपचाररत नवलपरासीका बजनाथ चौधरीले स्वदेश फिर्न पाएकोप्रति खुसी भए । उनको दुवै आँखाले प्रस्ट देख्दैन । सिधा भएर हिँड्न समेत नसक्ने भएपछि हृविलचियरमा राखिएको छ । ‘नेपाल जान्छु भन्ने आशा थिएन । म यही मर्छु भन्ने लागेको थियो,’ ६ वर्षदेखि मलेसियामा रहेका चौधरीले उनले भने, ‘मैले नेपालमा परिवारसँग बोल्न नपाएको चार महिना भयो ।’ उनी काम गरिरहेकै समयमा पक्षघात हुन पुगेको थियो ।

जहाजले ११ जना नेपाली कामदारको शव पनि बोकेको छ । जहाजमा मकवानपुरका रामसिंह थिङ, सर्लाहीका रसनारायण महत्तो, गुल्मी कृष्णप्रसाद ज्ञावली, सर्लाहीका मोहम्मद जुकनीयाद मिया मन्सुर, मोरङका रामलख्खन मण्डल, रोल्पा टोपबहादुर पुन, सप्तरीका इन्दलकुमार यादव, नुवाकोटका सुजनराना मगर, पर्साका दर्शन पण्डित खुमाल र रामेछापका बुद्ध योन्जनको शव छ ।

मलेसियामा रहेका ६१ जनाको शवमध्ये बाँकी ११ जनाको आउने भएको हो । नेपाली दूतावासले एकैदिन २६ जनाको शव पठाउने प्रक्रिया गरेको थियो । ७ जना नेपालीको शव भने परिवारको सहमतिमा मलेसियामै अत्येष्टि गरिएको छ । वैदेशिक रोजगार बोर्डका अनुसार घरसम्म शव पठाउनको लागि प्रबन्ध मिलाएको छ ।

त्यस्तै कुवेतबाट शनिबार बिहान लमजुङका आइतबहादुर गुरुङ र सर्लाहीका अमित कापरको शव आइपुगेको छ । त्यस्तै, संयुक्त अरब इमिरेट्स (यूएई)को सारजाहा विमानस्थलबाट १ सय ६८ जना नेपाली कामदार बोकेर उडेको विमान त्रिभुवन विमानस्थलमा ४ बजेर ४६ मिनेटमा अवतरण गरेको छ । जसमा एक शिशुसहित २६ जना महिला छन् । स्थानीय समय ११: ५ बजे एयर अरेबियाको उडान काठमाडौंका लागि उडेको हो । करार अवधि रद्द भएकाहरु जहाजमा रहेको नेपाली दूतावासले जनाएको छ । त्यस्तै कुवेतबाट बिहान १५० जना नेपाली महिलाहरु आइपुगेका छन् ।

फेसबुक प्रतिक्रियाहरु