शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रधानमन्त्रीको राष्टघाती कदम अब जनताले सहँदैनन् – नेतृ खनाल
समाचार

प्रधानमन्त्रीको राष्टघाती कदम अब जनताले सहँदैनन् – नेतृ खनाल

जुनेली न्युज ,
काठमाडौ । नेपाली कांग्रेसकी महासमिति सदस्य रिता खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको तानाशाही कदम अब जनताले नसहने चेतावनी दिएकी छिन् । उनले प्रधानमन्त्रीको बोली र व्यवहारमा भिन्नता भएको भन्दै पटकपटकका जनघाती र राष्टघाती कदमले प्रधानमन्त्रीको वास्तविक चरित्र पनि पर्दाफास भएको टिप्पणी गरेकी छिन् ।
नेतृ खनालले आज फेसबुकमा स्टाटस लेख्दै सरकारका प्रत्येक गतिविधिलाई नेपाली जनताले नजिकबाट नियालिरहेकाले अब सहनुको पनि सीमा नाघेको आरोप लगाइन् । उनले प्रधानमन्त्रीलाई तानाशाही, अधिनायकवादी र राष्टघातीसमेत भएको टिप्पणी गरेकी छिन् । सरकारले सुखी नेपाली, समृद्ध नेपालको नारा लगाएर जनतालाई झुक्याउन र अलमलमा पार्न खोजेको भन्दै उनले सरकारले नागरिकको जीवन सुरक्षा गर्न नसकेको भन्दै आलोचना गरेकी छिन् ।
कोरोना भाइरसका कारण विदेशमा रहेका नेपाली स्वदेश फर्कन चाहेपनि सरकारले वेवास्ता गरेको भन्दै नेतृ खनालले प्रधानमन्त्री सामान्य मानवीयता समेत गुमाएको आरोप लगाएकी छिन् । विदेशमा बसेका नेपालीहरु छटपटाइरहँदा पनि सरकारले वेवास्ता गरेको भन्दै उनले त्यहाँ रहँदा नेपालीको अपमान र विभेद भएको उनले स्टाटसमा उल्लेख गरेकी छिन् । उनले प्रधानमन्त्रीलाई नेपाल र नेपाली जनताको रक्षा गर्ने जिम्मेवारी तपाइकै भएकाले त्यसतर्फ ध्यान दिन पनि सुझाव दिएकी छिन् ।
भारतले शुक्रबार लिपुलेक हुँदै मानसरोवर जाने बाटो उद्घाटन गर्नुले नेपालको अपमान भएको उनको बुझाई छ । प्रधानमन्त्रीको भारत भक्तिको कारण नेपालमाथि भारतले सधैं थिचोमिचो गर्दै आएको भन्दै विगतमा सरकारले आफ्नो अडान नराखेकाले छिमेकी देशहरुले पटकपटक हामीमाथि आक्रमण र हेपाह प्रवृत्ति देखाउँदै आएको उनको ठम्याई छ । यसअघि नै भारतले आफ्नो नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुराजस्ता भूभागलाई अतिक्रमण गर्दा पनि प्रधानमन्त्री चुपचाप बसेको परिणाम नै यसको प्रमुख कारण भएको उनको भनाई छ ।
शुक्रबार सिंहदरवार अघि चाइनिज नागरिकले नेपालका सुरक्षाकर्मीमाथि आक्रमण गर्नुले नेपालको वेइज्जत भएको बताइन् ।
उनले कारोना भाइरसका कारण मानिसको जनजीवन अस्तव्यस्त बनेकोप्रति सरकारले चासो नदेखाएकोमा उनले सरकारको व्यवहार जनताको पक्षमा हुन नसकेको टिप्पणी गरिन् । सांसदलाई विकासका नाममा रकम बाँड्न खोजिएकोमा समेत सरकारलाई सचेत रहन र पीडितको राहतका लागि व्यवस्था गर्नसमेत आग्रह गरेकी छिन् ।

फेसबुक प्रतिक्रियाहरु