शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • जेष्ठ नागरिकलाई कोरोनाबाट बचाउने १० उपाय, -जेष्ठ नागरिक महासंघ नेपाल
समाचार

जेष्ठ नागरिकलाई कोरोनाबाट बचाउने १० उपाय, -जेष्ठ नागरिक महासंघ नेपाल

ज्येष्ठ नागरिकले अपनाउनुपर्ने सतर्कता र जिम्मेवार व्यक्ति, परिवार, पदाधिकारी र निकायले ज्येष्ठ नागरिकहरूलाई उपलव्ध गराउनुपर्ने १० बूँदे ध्यानाकर्षण पत्र सार्वजनिक

चैत १९,

काठमाडौँ,  विश्वभरि महामारीको रूपमा फैलिँदो कोरोना भाइरसको जोखिम तुलनात्मकरूपमा ६० वर्ष वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र मधुमेह, हृदय रोग एवं उच्च रक्तचापबाट पीडित मानिसलाई अझ बढी खतरनाक हुन सक्ने विभिन्न अध्ययनले जनाएको छ ।

यसर्थ, वर्तमान परिस्थितिमा ज्येष्ठ नागरिकले अपनाउनुपर्ने सतर्कता र जिम्मेवार व्यक्ति, परिवार, पदाधिकारी र निकायले ज्येष्ठ नागरिकहरूलाई उपलव्ध गराउनुपर्ने १० बूँदे ध्यानाकर्षण पत्र सार्वजनिक भएको छ । जुन यो अवस्थामा समग्र ज्येष्ठ नागरिकका लागि अति नै हितकारी देखिन्छ ।

राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ नेपालका तर्फबाट महासचिब छत्रबहादुर प्रधानले जारी गर्नुभएको अपिल तथा बचाउने उपाय :

१. आकस्मिक काममा बाहेक ज्येष्ठ नागरिकलाई घरबाट बाहिर नजान अपिल गरिएको छ । हाल सरकारबाट पनि लकडाउन गरिएकाले कानूनतः घरबाट बाहिर निस्कन मिल्दैन । तथापि अत्यावश्यक बस्तु र सेवा प्राप्तिका लागि घरबाट सबैभन्दा नजिकको पसलसम्म पुग्नुपर्ने हुन सक्छ । विशेष गरी ज्येष्ठ नागरिकको औषधि किन्नुपर्ने हुन सक्छ । यसै समयमा मासिक भत्तावापतको रकम बैंकबाट झिक्नुपर्ने हुन सक्छ । पात्रो हेरेर आइरहेका चाडपर्बमा पूजाआजा गर्नुपर्ने हुन सक्छ । तर, यी सबै काम हाललाई स्थगित गर्न आम ज्येष्ठ नागरिक आमाबुबामा सादर अनुरोध छ ।

साथै परिवारका सदस्यले ज्येष्ठ नागरिकलाई घर बाहिर जान नदिन र उहाँहरूको आवश्यकता सोधीबुझी कुनै झण्झट नमानी आवश्यक बस्तु र सेवाको आपूर्ति गरिदिन पनि अनुरोध छ ।

२. दोस्रो बूदामा सकेसम्म ज्येष्ठ नागरिकलाई छुटृै कोठामा राखी आवश्यक खानपिन, सरसफाईसहित नियमित औषधि सेवन गराई विशेष स्याहार सुसार गर्नुपर्छ भनिएको छ । आफूलाई जन्म दिने आमाबुबा, आदरणीय सासू ससुरा र आफ्ना अग्रज हजुरबुबा हजुरआमालाई माया गर्ने, सेवा गर्ने, आदर गर्ने सबैको इच्छा हुन्छ ।

यद्यपि दुःख लुकाएर लुक्दैन भन्छन्, कैयौं परिवारले एउटा वा दुईवटा कोठामा गुजारा चलाउनुपरेको अवस्था पनि छ । यस अवस्थामा घरपरिवारका सबैले कम्तिमा एक मिटरको दूरी कायम गर्नु बेश हुनेछ । घर भएकाले अपिलमा भनिएझै ज्येष्ठ नागरिकलाई छुट्टैै कोठा दिन र बिहानको चिया, पानी, औषधि, बिहानको खाजा, दिउसोको खाना, औषधि, दिउँसोको खाजा, रातिको खाना, औषधि, सुत्नुअघि दूध पिलाउने लगायतको समय तोकी ज्येष्ठ नागरिको स्याहार गर्नुपर्छ । प्रत्येक दिन उहाँहरूको कोठा सफा गर्ने, उहाँहरूलाई लुगा फेराउने, मुख धुन लगाउने, शरीर पुछ्ने, नङ काट्नेलगायतको सेवा गर्नुपर्छ ।

३.  संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकको विशेष संरक्षण गर्नुपर्छ भनिएकाले वर्तमान स्थितिमा ज्येष्ठ नागरिकलाई आवश्यक सर्जिकल मास्क, स्यानिटाइजर, हात धुने साबुनलगायतका सामग्री स्थानीय सरकारका निकाय पालिकाबाट उपलव्ध गराउन आग्रह गरिएको छ । यसका लागि नेपालमा गठन भएका ७५३ वटा पालिकाले यससम्बन्धी विशेष निर्णय गर्नुपर्छ । प्रत्येक वडाले यी सामग्री ज्येष्ठ नागरिकलाई घर घरमै पु¥याइदिनुपर्छ । घरपरिवारले यी सामग्रीको जोहो गर्नुपर्छ । घरमा यी सामाग्री भित्रिएपछि प्राथमिकताका साथ ज्येष्ठ नागरिकलाई उपलब्ध गराउनुपर्छ ।

सम्भव भएसम्म ज्येष्ठ नागरिकलाई कोठामै हात धुन धारा भएको बाल्टिनमा पानी, पानी थाप्ने बाटा र साबुन तथा स्यानिटाइजरको व्यबस्था गर्नुपर्छ । उहाँहरूलाई यी सामाग्रीको उपयोग गर्न र कसैसँग पनि बोल्नुपर्दा अनिवार्यरूपमा मास्क लगाउन उत्प्रेरित गर्नुपर्छ । घरपरिवारको मायांबाटै आम ज्येष्ठ नागरिकमा कुनैपनि रोगसँग मुकाविला गर्ने र सधै स्वस्थ्य रहने उत्साह प्राप्त भैरहने कुरा बुझ्न हामी कसैले पनि ढिला गर्नुहुदैन ।

४ . बृद्धाश्रमले पालना गर्नुपर्ने कुराहरूसंग सम्बन्धित छ । यस स्थितिमा सबै बृद्धाश्रमले आमा बुबालाई एकै ठाउमा राख्नुहुँदैन । उहाँहरूलाई अलग–अलग राख्नुपर्छ । यस्तो विषम परिस्थितिमा उहाँहरूलाई आपसी भेला हुन दिनुहुँदैन । उहाँहरूले नियमितरूपमा गरी आउनु भएको भजन कीर्तन पनि हालका लागि स्थगित गर्नुपर्छ । यदि सामूहिक रूपमा योगा गर्ने गरिएको भए, सोसमेत बन्द गर्नुपर्छ । यी कार्य ज्येष्ठ नागरिकलाई आ–आफ्नै कोठमा गर्न आग्रह गर्नुपर्छ ।

यस स्थितिमा बृद्धाश्रममा ज्येष्ठ नागरिकले प्रयोग गर्ने थाल, कचौरा, गिलास, चम्चा जस्ता सामाग्री संभव भएसम्म व्यक्तिलाई छुट्टाछुट्टै उपलव्ध गराउनु बेश हुनेछ । वृद्धाश्रमका भान्छे, सहयोगीहरू, स्याहारकर्ताहरू सबैले अनिवार्यरूपमा हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, सधैं मास्क लगाउने गर्नुपर्छ । खाना खुवाउँदा समूहमा होइन, एक्लाएक्लै कोठामा खुवाउनुपर्छ । यदि कुनै सहयोगी कर्मचारी वा स्वयंसेवकमा कुनै पनि प्रकारको संक्रमणको आशंका भएमा निजलाई तत्कालै सेवा दिने कामबाट अलग गर्नुपर्छ ।

५. ज्येष्ठ नागरिकको नियमित चेकजाँच गर्न सुझाइएको छ । यसअनुसार बृद्धाश्रममा बस्नुभएका ज्येष्ठ नागरिकको नजिकको अस्पताल वा स्वास्थ्य चौकीले नियमित चेकजाँच गर्नुपर्छ । यसका लागि पालिकाले आवश्यक समन्वय गर्नुपर्छ । स्वास्थ्यकर्मीहरूले नियमितरूपमा उपकरणसहित ज्येष्ठ नागरिकको स्वस्थ्य परीक्षण गर्ने, कुनै कुराको आशंका भए प्रयोगशालामा जाँच्ने नमूना संकलन गर्ने , आवश्यक औषधि र ढाढस दिँदा ज्येष्ठ नागरिकहरू सदैव उच्च मनोवलमा रहन मद्दत मिल्छ । हामी सबै बृद्धाश्रम सञ्चालकको ध्येय पनि यही हो ।

६.  ज्येष्ठ नागरिकलाई रुघा, खोकीबाट जोगाउन चिसोबाट बचाउनुपर्छ भनिएको छ । यसका लागि हाम्रो घरेलु औषधिकारूपमा परिचित तातोपानी पिउने, अदुवा बेसारपानी नियमित पिउने, न्यायो लुगा लगाउने लगायतको काम गर्नुपर्छ ।

किसानले बाहिरी तापक्रमबाट जोगाउन टनेलभित्र बेमौसमी हरियो तरकारीको खेती गर्छन् र लाभ लिन्छन् । सडक विभागका कर्मचारीले चिसो बढी हुने समयमा सडक किनारमा रोपिएका बिरुवालाई विशेष प्रकारले ढाकछोप गर्छन् । यसरी ती बिरुवा हुर्काउँछन् र ती ठूला रुखमा परिणत हुन्छन् । ती रुखले भविश्यमा हरित सडकको पहिचान बनाउँछन् । मीनपचासमा माछा पनि दूलोबाट बाहिर निस्किँदैन भनिन्छ । यही रितले हामीले हाम्रा आमाबुबा, हजुरबुबा हजुरआमाको सुरक्षा गर्नुपर्छ ।

७.  उच्च ज्वरो आउने, स्वास फोर्न गाह्रो हुनेजस्ता लक्षण देखिएमा तत्कालै अस्पतालमा सम्पर्क गर्न अपिल गरेको छ । यसको पालना गर्नुपर्छ । तर, सामान्य सिजन अनुसारको रुधाखोकी लागेमा वा सामान्य विसञ्चो भएमा शंका र हल्लाको भरमा अनावश्यक त्रास पालेर अस्पतालमा भीड हुनेगरी दौडन नहुने कुरामा पनि महासंघले ज्येष्ठ नागरिकहरूलाई सहज गराएको छ ।

यस स्थितिमा आम आमाबुबाले घरबाट बाहिर ननिस्किने र अनावश्यक रूपमा कुनै पनि व्यक्तिको सम्पर्कमा नरहने नै संक्रमणबाट जोगिन उत्तम उपाय हो ।

संक्रमणसंग जुध्न स्वस्थ्य हुन जरुरी छ । यसका लागि नियमित औषधि सेवन गर्नुपर्छ । आफ्नो नियमित खानपानमा पूर्ण अनुशासन कायम गर्नुपर्छ । नियमित तातोपानी पिउनुपर्छ । आफूले सक्ने गरी नियमित व्यायाम र योगा गर्नुपर्छ । कुनै पनि किसिमले चिन्तित हुनुहुँदैन । सधैं खुसी भैरहन ज्येष्ठ नागरिकमा अनुरोध छ ।

८.  संक्रमित ज्येष्ठ नागरिकको उपचार र हेरचाहमा प्राथमिकता दिई विशेष व्यवस्था मिलाउनुपर्छ भनिएको छ । हालसम्म नेपालमा जति व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ, यी तीनैजना युवाहरू हुन् । एकजना युवा चीनबाट आएको र संक्रमित भएकोमा निको भएर घर फर्किसकेका छन् । यसरी नेपालमा हामीले अधैर्य हुने, आत्तिने, डराउने अवस्था छैन । तर, यस संक्रमणसँग जोगिन स्वयंले कठोर अनुशासनमा रहन भने जरुरी छ । शत्रुलाई कहिल्यै पनि कमजोर ठान्नु हुँदैन ।

९.  सरकारले जारी गरेका आधिकारिक सूचनाअनुसार सतर्कताका विधि अपनाउन अनुरोध गरिएको छ । यस्तो समयमा अनावश्यक हल्ला गर्ने, अफवाह फैलाउने, त्रास मच्चाउने काम हुन सक्छ । यस्ता कुरामा हामी समयमै सजग हुनपर्छ । नेपालीमा एउटा उखान छ, कागले कान लग्यो भन्दैमा काननै नछामी कागको पछाडि दौडिने मुख्र्याइँ गर्नुहुँदैन । यसर्थ सरकारको आधिकारिक सूचनामा विश्वास गरेर मात्रै संकमणबाट जोगिन सकिन्छ ।

अन्त्यमा,

१०.  केही दिनका लागि ज्येष्ठ नागरिकका लागि सञ्चालित दिवा सेवा केन्द्रका सेवा बन्द गरौं भन्ने अपिल छ । यो त्यत्तिकै महत्वपूर्ण छ । हाल सरकारले हिँडडुलमै रोक लगाएको अबस्थामा यो संभव पनि छैन । जो ज्येष्ठ नागरिकहरूले दिवासेवा केन्द्रमा गएर आफूलाई भुलाउने, दिन सजिलै काट्ने गर्नुभएको थियो, यस समयमा धैर्य गरेर घरमै बस्नु होस् । अनावश्यक चिन्ता नलिनोस् । आफूले विगतमा अनुभव गरेका असल कुराहरू घर परिवारलाई सुनाउनुहोस् । तनावमा नबस्नोस्, राम्ररी निदाउनु होस् । सबै आमाबुबामा सुस्वास्थ्य र सुखी एबं खुसी रहन म पनि अपिल गर्दछु ।

मुलुकका ज्येष्ठ नागरिक हाम्रा अमूल्य निधि हुन् । उनीहरुको सुरक्षा गर्नु हाम्रो कर्तव्य हो । नेपालको कानूनअनुसार ६० वर्षमाथिका नागरिकलाई ज्येष्ठ नागरिक मानिन्छ । नेपालमा यस्ता ज्येष्ठ नागरिकको जनसंख्या कूल जनसंख्याको ८.२६ प्रतिशत अर्थात् करिब ३० लाख छ ।

(पूर्वसचिव बास्कोटा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ नेपालका सल्लाहकार हुन् )

(स्रोत onlinekhabar.com )

फेसबुक प्रतिक्रियाहरु