बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • उच्च जातको केटी भगाएको आरोपमा दलित युवकमाथि प्रहरी चौकीमै चरम यातना
समाचार

उच्च जातको केटी भगाएको आरोपमा दलित युवकमाथि प्रहरी चौकीमै चरम यातना

चैत १९,

धनुषा , उच्च जातको केटी भगाउन सहयोग गरेको भन्दै प्रहरी प्रशासनको मिलेमतोमा एक दलित युवकलाई चरम यातना दिएको घटना सार्वजनिक भएको छ।

धनुषाको विदेह नगरपालिका–५ एकराही बस्ने २५ वर्षका सुनिलकुमार खत्वे मण्डललाई प्रहरी प्रशासनको मिलेमतोमा प्रहरीचौकीमै चरम यातना दिएको घटना बाहिरिएको हो।

जनकपुरधाम उपमहानगरपालिका १६ बस्ने एक यादव थरकी युवतीलाई सुनिल मण्डलका सालो धनौजी गापा–३ बस्ने २० वर्षीय अनिल कुमार मण्डलसँग भाग्न सघाएको भन्दै मण्डलमाथि प्रहरी प्रशासनकै मिलेमतोमा चरम यातना दिइएको पीडित परिवारको आरोप छ। अनिल सुनिलका सालो हुन्।

सोही विषयलाई लिएर विदेहनगरपालिका स्थित तीनकौरिया प्रहरी चौकीका इन्चार्ज असई मोदनारायण यादवले गएको चैत १५ गते विहान मण्डललाई घरबाटै हिरासतमा लिएर चौकीमा ल्याएका थिए।

केटी पक्षको केही आफन्त बोलाएर ३/४ घण्टा चौकी भित्र राखेर असई यादव समेतले मिली हात, मुक्का, लात, पाइपले शरीरको विभिन्न भागमा प्रहार गरी सुनिललाई यातना दिएको उनकी आमा सम्तोलिया देवीले मंगलबार जनकपुरमा पत्रकार सम्मेलन गरी पीडा सुनाएकी छन्।

विना पक्राउ पूर्जी सुनिललाई पक्राउ गरी प्रहरी चौकी तीनकौरियामा राखेर दिनभर यातना दिएको विदेह नगरपालिका वडा नं. ६ का वडाध्यक्ष जयराम मण्डल केवटले बताए।

‘म सुनिललाई छुटाउन गए। उनलाई भित्रबाट बाहिर ल्याउँदा बेहोस् भएर लडे। आफूलाई निकै यातना दिएको बताए। त्यति बेला नै केटी पक्षका एकजनाले सुनिललाई प्रहरीकै सामुन्ने तथानाम गाली गर्दै धम्की दिए। यसले सुनिललाई कतिसम्म प्रहरी प्रशासनकै मिलेमतोमा यातना दिएको भन्ने छर्लंग हुन्छ’ वडाध्यक्ष केवटले भने।

निर्घात कुटपिटबट घाइते भएका सुनिललाई सोही दिन दिउँसो ३ बजे विदेह नगरपालिकाका मेयर बेचन दास, वडाध्यक्ष ६ का वडाध्यक्ष केवट, स्थानीय प्रितम खत्वे र सुकिल मण्डलको रोहवरमा कागज गरेर छोडिएको थियो।

घर पुगेर साँझ झनै सिकिस्त भएपछि उनलाई प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो। दुई दिन उपचार पश्चात स्वास्थ्य अवस्थामा सुधार आएपछि कोरोना भाइरसको सन्त्रासको कारण अस्पतालले घरमै राखेर उपचार गराउन सल्लाह दिएको आमा सम्तोलियादेवीको भनाइ छ। सुनिललाई १७ गते साँझ अस्पतालले डिस्चार्ज गरेको थियो।

आमा सम्तोलियाले केटी भगाउन छोरा सुनिलको कुनै भूमिका नहुँदा समेत विना प्रमाण र पुष्टि दलित भएकै कारण प्रहरी प्रशासनको मिलेमतोमा चौकीमै ल्याएर चरम यातना दिएको गुनासो गरिन्।

केटी भगाउन सघाएकै विषयमा त्यसअघि नै सुनिललाई जिल्ला प्रहरी कार्यालय धनुषाले फागुन ९ गते पक्राउ गरी सार्वजानिक अपराध मुद्दा चलाएको थियो। उनी जिल्ला प्रशासन कार्यालय धनुषामा धरौटीमा फागुन १३ गते रिहा भएका थिए।

स्रोत : पाल खबरबाट

फेसबुक प्रतिक्रियाहरु