बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अमेरिकी सैनिकले पूर्णरुपमा अफगानिस्तान छोडेसगै, तालिबानले मनाए खुसीयाली
Breaking News

अमेरिकी सैनिकले पूर्णरुपमा अफगानिस्तान छोडेसगै, तालिबानले मनाए खुसीयाली

जुनेली न्यूज, काठमाण्डौ । अमेरिकाले झण्डै २० वर्षपछि पूर्णरुपमा अफगानिस्तान छाडेको छ । यसअघि तालिबानले विदेशी सेना फिर्ताको लागि समयसीमा तोकेकै दिन अगष्ट ३१ मै अमेरिका पूर्णरुपमा फिर्ता भएको हो ।काबुलस्थित अमेरिकी राजदूत रस विल्सन र त्यहाँ रहेका अमेरिकी कमान्डर जनरल क्रिश डोनाह्यु अन्तिम उद्धार उडानमा सहभागी भएको बताइएको छ ।

फौज फिर्ती अभियानको सुपरिवेक्षण गरेका जनेरल फ्र्याङ्क मकेन्जीले अमेरिकाले पछिल्ला केही सातामा झन्डै ८० हजार व्यक्तिको उद्धार गरेको बताए । अमेरिकी सेनाका सेन्ट्रल कमाण्डका प्रमुख जनरल मकेन्जीले भने, ‘हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तिम सी सेभेन्टीन विमान उडेको छ । योसँगै सैन्य उद्धारको पाटोका साथै २० वर्षदेखिको अफगानिस्तान मिसन समाप्त भएको छ । जुन मिसन सन् २००१ को सेप्टेम्बर ११ लगत्तै सुरु भएको थियो र जस अन्तर्गत ओसामा विन लादेन तथा उनका थुप्रै अल कायदा षडयन्त्रकारीहरूमाथि कारबाही भएका थिए ।’

उनले अफगानिस्तानमा अमेरिकी उपस्थितिका कारण उच्च मूल्य चुकाउनुपरेको र दुई दशकमा २४ सय जना अमेरिकी सुरक्षाकर्मीले ज्यान गुमाएको दुखद रहेको बताए ।

अमेरिकी सेना पूर्णरुपमा फिर्ता भएसँगै अब काबुल विमानस्थललाई तालिबानले आफ्नो हातमा लिने छ । तालिबानले अब विमानस्थलमा व्यापारिक उडानको शुरुवात गर्ने र कागजात भएका व्यक्ति देशबाहिर जान पाउने बताएको छ ।

अमेरिकी फौज फिर्ता हुन थालेदेखि नै तालिबान समूहले अफगानिस्तान कब्जा अभियानलाई तीव्र पारेको थियो । तालिबान लडाकुहरु राजधानी काबुल प्रवेश गरेलगत्तै त्यहाँका राष्ट्रपति असरफ घानीले देश छाडेका थिए । त्यसपछि सुरु भएको उद्धार उडानको क्रममा अमेरिकाले १ लाख २३ हजार अफगान नागरिकलाई उद्धार गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु