मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • झापाको भद्रपुरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको अर्धकदको सालिक तोडफोड
दुर्घटना/अपराध

झापाको भद्रपुरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको अर्धकदको सालिक तोडफोड

जुनेली न्यूज, काठमाण्डौ | झापाको भद्रपुरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको अर्धकदको सालिक तोडफोड भएको छ ।अढाई दशकअघि स्थापित भएको उक्त सालिक आइतबार रति अज्ञात समुहले तोडफोड गरेका हुन् |

अज्ञात समूहले सालिक तोडफोड गरेको देवकोटा स्मारक संरक्षण समितिका सचिव राजु बरालले बताए । सालिकको शिर छेदन गरी भुइँमा लडाइएको अवस्थामा सोमबार बिहान भेटिएको उनले जानकारी दिए ।भद्रपुर नगरपालिका–९ स्थित प्रकाशपुरमा २०५१ सालमा स्थानीय साहित्यप्रेमीहरूले सालिक स्थापना गरेका थिए । पूर्वपश्चिम राजमार्गको चारआलीबाट झापा सदरमुकाम चन्द्रगढी जोड्ने मेची सहायक राजमार्गको बीचमा सालिक रहेको थियो ।

सालिक तोडफोड घटनाप्रति देवकोटा स्मारक संरक्षण समितिले खेद व्यक्त गरेको र दोषी पत्ता लगाएर कडा कानुनी कारबाही गरिदिन प्रहरीमा अनुरोध गरिएको बरालले बताए ।

घटनाका विषयमा अनुसन्धान भइरहेको जनाउँदै जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले तोडफोड गर्नेहरूको खोजतलास भइरहेको बताए । ‘सालिक भएको स्थान वरपरका बासिन्दासँग सोधपुछ गरिरहेका छौँ,’ थापाले भने, ‘पहिले पनि तोडफोडको प्रयास भएको भन्ने सुनेका छौँ, समितिका पदाधिकारीहरूबाट पनि जानकारी लिइरहेका छौँ ।’

 

 

फेसबुक प्रतिक्रियाहरु