शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • यसअघिको सरकारको लागि काम गर्ने नागरिकले आत्मसमर्पण नगरे ज्यान मार्ने तालिबानको धम्की
दुर्घटना/अपराध

यसअघिको सरकारको लागि काम गर्ने नागरिकले आत्मसमर्पण नगरे ज्यान मार्ने तालिबानको धम्की

जुनेली न्यूज, काठमाण्डौ । संयुक्त राष्ट्रसंघले तालिबानले यसअघिको सरकार र अमेरिकी वा नेटोको सेनाका लागि काम गर्ने मानिसलाई घरघरमा गएर खोजिरहेको बताएको छ । राष्ट्रसंघको एक रिपोर्टअनुसार तालिबानले आत्मसमर्पण नगरे ज्यान मार्ने वा परिवारका सदस्यलाई नै पक्राउ गर्ने धम्की पनि दिएको छ ।

तालिबानले यसअघि पत्रकार सम्मेलन गरेर कसैसँग पनि बदला नलिने बताएको थियो । यद्यपि मानिसहरुमा अझै पनि तालिबान पुरानै स्वरुपमा आउने आशंका देखिएको छ । अहिले जारी गरिएको चेतावनीमा अहिले पनि धेरै मानिसलाई तालिबानले आफ्नो कालोसूचीमा राखेको र उनीहरु जोखिममा रहेको उल्लेख छ । उनीहरुले आफूलाई आत्मसमर्पण नगरेको अवस्थामा उनीहरुको परिवारका सदस्यलाई उनीहरुको सट्टामा पक्राउ र कारबाही गर्न सक्ने बताइएको छ ।
अहिले अफगानिस्तानबाट विदेशीलाई आफ्नो मुलुक फर्काउने काम भइरहेको छ । पछिल्लो पाँच दिनमा काबुल विमानस्थलबाट १८ हजार मानिसको उद्धार गरिएको नेटोका अधिकारीहरुले बताएका छन् ।

बिहीबार अफगानिस्तानको असादबादमा स्वतन्त्रता दिवसको क्रममा प्रदर्शनमा उत्रिएका मानिसहरुमाथि तालिबानले गोली चलाएको थियो । यो घटनामा दुई जनाको मृत्यु भएको थियो ।

त्यस्तै जलालबादमा पनि मानिसहरुले राष्ट्रिय झण्डाको समर्थनमा गरेको प्रदर्शनको क्रममा तालिबानले गोली चलाएको थियो ।

फेसबुक प्रतिक्रियाहरु