शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता
Breaking News

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता

६ साउन ,काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकारका तत्कालीन र दीर्घकालीन कार्यक्रम सार्वजनीक गरेरमात्रै मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार  भएको भेटवार्तामा देउवा र प्रचण्डबीच सरकारका तत्कालीन र दीर्घकालीन कार्यक्रम सार्वजनीक गरेरमात्रै मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल भएको हो।

‘प्रधानमन्त्रीसँग सरकारका तत्कालीन र दीर्घकालीन कार्यक्रम बनाएर सार्वजनिक गरेरमात्रै क्याविनेट विस्तार गर्ने विषयमा छलफल भयो,’ बालुवाटार स्रोतले बताएको  छ ।

प्रचण्डका स्वकीय सचिव विष्णु सापकोटाले पनि प्रधानमन्त्रीसँग सरकारका तत्कालीन र दीर्घकालीन कार्यक्रम बनाउने विषयमा छलफल भएको जानकारी दिए।भेटमा साउन ३ गते प्रतिनिधि सभा बैठकमा भएको उपस्थितिका बारेमा समीक्षा पनि भएको बताए।

स्रोतका अनुसार प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच पूर्ववर्ती सरकारले गरेका नियुक्तिहरु खारेज गर्ने बारेमा पनि छलफल भएको छ। सरकारले गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकबाट विभिन्न ११ मुलुकका लागि गरिएका राजदूतहरुको सिफारिस खारेज गरेको थियो।

प्रचण्डले प्रधानमन्त्री देउवासँगको भेट अघि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए। निवासमा भएको त्रिपक्षीय छलफलमा पनि सरकारका साझा कार्यक्रम ल्याउने, संसदमा भएको उपस्थिति, मन्त्रिमण्डल विस्तारलगायतका विषयमा छलफल भएको बताइएको छ।

फेसबुक प्रतिक्रियाहरु