बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सोलुखुम्बुमा फोरजी सेवा सुचार
विकास निर्माण

सोलुखुम्बुमा फोरजी सेवा सुचार

फागुन ०१,रमन वन,

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा फोरजी सेवा सुचारु भएको छ । जिल्लामा निर्माण हुने ३८ वटा फोर लेग टावर मध्ये ६ वटा टावर सुचारु भएको नेपाल टेलिकम कार्यालय ओखलढुंगाका प्रमुख दिनेश चन्द्र पन्थीले सोलु एफ.एम.लाई जानकारी दिनुभयो ।

उहाँका अनुसार सोलुदुधकुण्ड नगरपालिकाको पत्ताले, सोताङ गाउँपालिकाको सोताङ र थुलुङ दुधकोशी गाउँपालिकाको कांगेलमा बिहिबार बेलुकीबाट उक्त सेवा सुचारु भएको हो ।

यस्तै, सोलुदुधकुण्ड नगरपालिकाको सल्लेरी, फाप्लु र खुम्बु पासाङल्हामुको स्याङबोचेमा यसअघि नै सेवा सुचारु भइसकेको टेलिकमले जनाएको छ । क्याम्जे, डाँडाखर्क र गुदेलमा २ दिन भित्रमा सेवा सञ्चालन गर्ने गरि काम भईरहेको कार्यालय प्रमुख पन्थीको भनाई छ ।

उता, छिमेकी जिल्ला खोटाङमा २८ वटा फोर लेग टावर मध्ये चार वटा सुचारु भएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अन्तरगत देविस्थान, दिक्तेल बजार, खोटेहाङ गाउँपालिकाको सिमपानी र जन्तेढुंगा गाउँपालिकाको चिसापानीमा सेवा सुचारु भएको छ ।

यस्तै, केपिलासगढीको बाक्सिला, हलेसी तुवाचुङको च्यास्मिटार, दिक्तेल रुपाकोटको बाम्राङ, बुइपा, दोर्पाआले, दिप्रुङको बतासे, डाँडागाउँ, साकेला गाउँपालिकाको बाँझेच्यान डाँडा र मात्तिम विर्तामा २० दिनभित्रमा सेवा सुचारु हुने गरि काम भइरहेको बताइएको छ ।
यता, ओखलढुंगा जिल्लामा पनि फोर्जी सेवा सुचारु भएको छ । २५ वटा फोर लेग टावर मध्ये ६ वटाबाट फोरजी सेवा सुचारु भएको टेलिकम शाखा कार्यालय ओखलढुंगाले जनाएको छ ।

सिद्धीचरण नगरपालिकाको विरेन्द्र पार्क, तलुवा, ओखलढुंगा बजार, कमेरेडाँडा, रुम्जाटार र मोलुङ गाउँपालिकाको रामपुरमा सेवा सुरु भएको हो । साथै अन्य टावरहरुमा एन्टिना राख्ने कामसँगै लिंक मिलाउने काम भइरहेको पन्थीको भनाई छ ।

डाँडा चढ्नुपर्ने बाध्यता हट्यो
हङकङस्थित चाइना कम्युनिकेसन सर्भिस इन्टरनेसन (सीसीएसआई) ले रेडियो एक्सेस नेटवर्क (¥यान) एवं जेडटीईले सामाग्री जडानको काम गरिरहेको छ। अहिले नेपालमा टेलिकमका सक्रिय फोरजी प्रयोगकर्ता ३० लाख बढी नाघेको टेलिकमले जनाएको छ ।

पहिला नेट चलाउनकै लागि आधा घण्टा हिँडेर इन्टरनेट भएको स्थानमा पुग्नु पर्ने बाध्यता हटेको भन्दै सेवाग्रही हर्षित भएका छन् । गाउँगाउँमा फोरजी सेवा सुचारु भएसंगै अग्लो डाँडा चढनुपर्ने, टाढा, टाढा हिँडेर जानुपर्ने बाध्यता हटेको थुलुङ दुधकोशी गाउँपालिका ४ जुबुका सुजन खत्रीले बताउनुभयो ।

यस्तै, खोटाङ जस्तो विकट जिल्लामा फोरजी सेवा सुचारु भएसँगै घरैमा बसेर सामाजिक सञ्जालको माध्यमबाट विश्वका विभिन्न क्षेत्रलाई नजिकैबाट नियाल्न सकिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङका कविराज रिजालको भनाई छ ।

फोरजी केहि महिना अगाडी नै ७७ ओटै जिल्लामा विस्तार भइसकेको टेलिकमले घोषणा गरिसकेको थियो । टेलिकमको फोरजी विस्तारको कुल लागत १८ अर्ब ७१ करोड रुपैयाँ रहेको छ ।

नेपाल टेलिकमको फोरजी सेवाको पहुँच हालसम्म ६ सय १५ स्थानीय तहमा पुगेको छ भने देशैभर फोरजीको पहुँच पुर्याउने गरी ०७५ पुसमा सम्झौता गरि काम अगाडी बढाएको थियो ।

नेपाल टेलिकमले गत पुस मसान्त सम्ममा २९ सय ५५ स्थानमा ५१ सय ७६ ओटा विटीएस टावर मार्फत फोरजी सेवा उपलब्ध गराएको छ । कोरोना भाईरस (कोभिड१९) का कारण काममा केही ढिलाई भएपनि अहिले भने द्रुत गतिमा काम भईरहेको टेलिकम कार्यालयले ओखलढुंगाका प्रमुख दिनेशचन्द्र पन्थिले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रियाहरु