बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • आज राजा ज्ञानेन्द्रले प्रजातन्त्रमाथि ‘कु’ गरेको दिन
समाचार

आज राजा ज्ञानेन्द्रले प्रजातन्त्रमाथि ‘कु’ गरेको दिन

माघ १९,

काठमाडौं । आज माघ १९, प्रजातान्त्रिक व्यवस्थाको अन्त्य गरी तत्कालीन राजा ज्ञानेन्द्रले शाहले शाही सम्बोधन मार्फत शासनसत्ता आफ्नो नियन्त्रणमा लिएर ‘राजनैतिक कु’ गरेको दिन।

यस दिनलाई कालोदिनका रुपमा सम्झने गरिन्छ। संसदीय व्यवस्थाबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारलाई हटाई प्रत्यक्ष निरंकुश शासन व्यवस्था लादेको भन्दै आजको दिनलाई कालोदिनका रुपमा सम्झने गरिन्छ।

२०६१ साल माघ १९ गते राजा ज्ञानेन्द्रले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा असक्षम भएको भन्दै अपदस्त गरेर आफ्नै अध्यक्षतामा मन्त्रिमण्डल गठन गरेका थिए।

दरबार हत्याकाण्ड लगत्तै राजा बनेका ज्ञानेन्द्रले मुलुकमा राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित गरेर मोबाइल र टेलिफोन लाइन बन्द गराएका थिए भने रेडियोमा समाचार रोक लगाइएको थियो। राजनीतिक दलका नेतालाई नजरबन्दमा राखिएको थियो। राजाको उक्त कदम धेरै दिन टिकेन।

ज्ञानेन्द्रको यस कदमले जनयुद्ध चलाइरहेको तत्कालीन माओवादी र संसदवादी दलहरुलाई एकजुट बनायो। दलहरु राजाको उक्त प्रत्यक्ष शासनको विरुद्ध एकजुट भए र आन्दोलन चर्कियो। २०६२ण्०६३ को जनआन्दोलनको सुत्रपात पनि यहि दिनको कदम मानिन्छ। २०६२ मंसिरमा दिल्लीमा द्वन्द्वरत माओवादी र तत्कालीन सातदलबीच १२ बुदे समझदारी भएको थियो। जसमा ुनिरङ्कुश राजतन्त्रविरोधी सम्पूर्ण शक्तिहरुले निरङ्कुश राजतन्त्रका विरुद्ध आ–आफ्ना ठाउँबाट प्रहार केन्द्रित गर्दै देशव्यापी लोकतान्त्रिक आन्दोलनको आँधीबेहरी निर्माण गरेर पूर्ण लोकतन्त्र स्थापना गर्नेु उल्लेख थियो। त्यसपछि माओवादीसहित ८ राजनैतिक शक्तिले राजसंस्था विरुद्ध आन्दोलन गरेका थिए। त्यहि आन्दोलनको सफलतापछि २ सय ३८ वर्षीय राजसंस्थाको अन्त्य भएको थियो।

तर निरंकुश राजसंस्था अन्त्य भएको लामो समय भइसक्दा समेत मुलुक संक्रमणकालबाट अगाडि बढ्न सकेको छैन। विकास निमार्णका कार्यले गति लिन सकेका छैनन्। भ्रष्टाचार रोकिएको छैन भने जनताको जीवनस्तर माथि उठ्न सकेको छैन।

तत्कालीन राजा ज्ञानेन्द्र अहिले आम नागरिकका रुपमा रहे पनि उनी विभिन्न ठाउँमा जाँदा ‘राजा आउ देश बचाउ’ नारा लागिरहन्छ। अहिले देशमा फेरि आन्दोलन शुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि देशलाई स्थिरता दिने भनेर स्थापना भएको नेकपाको सरकार आफ्नै पार्टीका कारण दुई टुक्रा भएको छ।

नेकपाको प्रचण्ड नेपाल समूह सडकमा छ भने ओली समूह भने वैशाख १७ र २७ गते चुनाव गराउने भनेर लागि परेको छ।

फेसबुक प्रतिक्रियाहरु