आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको निधन : कांग्रेसले पार्टीको झण्डा तीन दिन झुकाउने,
समाचार

प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको निधन : कांग्रेसले पार्टीको झण्डा तीन दिन झुकाउने,

मंसिर २६,

काठमाडौं । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पार्टीका महाधिवेशन प्रतिनिधि एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको निधनमा कांग्रेसले तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने भएको छ । श्रेष्ठको ८० वर्षीको उमेरमा मस्तिष्कमा रक्तश्राव भई उपचारका क्रममा शुक्रबार काठमाडौं मोडेल अस्पतालमा निधन भएको हो ।

त्यस्तै कांग्रेसले उनको सम्झनामा मंसिर २८ गते आइतबारका केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने, स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने र शोक सभा गर्ने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले शोकपत्र जारी गर्दै जानकारी दिए ।

श्रेष्ठ पार्टीको एघारौं महाधिवेशन २०६२ मा गिरिजाप्रसाद कोइरालाको सभापतित्वकालमा पार्टीको केन्द्रीय सदस्य बनेका थिए । स्वर्गीय श्रेष्ठ वि.सं. २०१८ सालमा निरंकुश पञ्चायती व्यवस्थाको विरोध गर्दै भएको क्रान्तिका क्रममा बमकाण्डमा पक्राउ समेत परेका थिए ।

नेपालमा प्रजातन्त्र स्थापनार्थ भएका आन्दोलन÷संघर्षका क्रममा उनले ११ वर्ष भन्दा बढी समयसम्म जेल जीवन बिताएका थिए । ३० वर्ष लामो प्रजातान्त्रिक आन्दोलनहरुमा सक्रिय रहेर बहुदलीय व्यवस्थाको स्थापनाका निमित्त विशिष्ट योगदान गर्ने र त्यस आन्दोलनमा सक्रिय भएका कारण पञ्चायती व्यवस्थाको दमन र प्रतिशोधमा परेका राजनीतिक पीडितहरुलाई सम्मान गर्नका लागि नेपाल सरकारबाट सन्त नेता कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठन भएको राजनीतिक पीडित समितिको उनी सदस्य बनेका थिए ।

स्वर्गीय श्रेष्ठ २०५१ सालको मध्यावधि निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं. ३ बाट पार्टीका तर्फबाट उम्मेदवार र २०५६ सालमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति, काठमाडौंको सभापति बनेका थिए । श्रेष्ठ राजनीतिका साथै सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आएका थोए

वि.सं. २०७२ मा उनलाई जननायक बीपी कोइराला स्मृति ट्रष्टद्वारा बीपी सेनानी सम्मानबाट विभुषित गरिएको थियो ।

स्वर्गीय श्रेष्ठको एक छोरा र तीन छोरी छन् ।

फेसबुक प्रतिक्रियाहरु