शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • दसैँमा सवारी दुर्घटनामा परी देशभर ५१ र प्रदेश-२ मा २४ जनाको मृत्यु
दुर्घटना/अपराध

दसैँमा सवारी दुर्घटनामा परी देशभर ५१ र प्रदेश-२ मा २४ जनाको मृत्यु

कात्तिक १३,

काठमाडौं । दसैँका १० दिन (१-११ कात्तिक)मा देशभर सडक दुर्घटनामा परी ५१ जनाको मृत्यु भएको छ । अन्य ६ सय २७ जना घाइते भएका छन्, तीमध्ये दुई सय १२ जना गम्भीर र चार सय १५ जना सामान्य घाइते भएका छन् ।

प्रहरीका अनुसार यसबीचमा काठमाडौं उपत्यकामा चारजनाको मृत्यु, चार गम्भीर र एक सय २४ सामान्य घाइते भएका छन् । प्रदेश-१ ट्राफिक प्रहरी कार्यालय, इटहरीमातहत भएका दुर्घटनामा १० को मृत्यु, १० गम्भीर र १९ जना सामान्य घाइते भएका छन् ।

प्रदेश-२ ट्राफिक प्रहरी कार्यालय, पथलैयाका अनुसार दुर्घटनामा परी १० दिनमा २४ जनाको मृत्यु भएको छ । अलग-अलग घटनामा एक सय ३४ जना गम्भीर र एक सय ९२ जना सामान्य घाइते भएका छन् ।

यस्तै, बागमती प्रदेशमा पाँचको मृत्यु, २१ गम्भीर र ३५ जना सामान्य घाइते भएको ट्राफिक प्रहरी कार्यालय, रामनगरले जनाएको छ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय, गगनगौँडाका अनुसार उक्त प्रदेशमा दसैँमा भएका दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । अन्य पाँच गम्भीर र एकजना सामान्य घाइते भएका छन् ।

लुम्बिनी प्रदेशमा चारजनाको मृत्यु, १८ गम्भीर र २४ सामान्य घाइते भएको ट्राफिक प्रहरी कार्यालय, बुटवलले जनाएको छ । लुम्बिनी प्रदेशकै कोहलपुरस्थित ट्राफिक प्रहरीका अनुसार उक्त कार्यालयमातहत क्षेत्रमा भएका दुर्घटनामा दुई गम्भीर र १२ जना सामान्य घाइते भएका छन् । यस्तै, सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय, अत्तरियाका अनुसार उक्त प्रदेशमा दुईको मृत्यु, १८ गम्भीर र आठजना सामान्य घाइते भएका छन् ।

सबैभन्दा बढी दुर्घटना प्रदेश-२ मा

दसैँका वेला प्रदेश–२ मा सडक दुर्घटनामा परी सबैभन्दा बढी २४ जनाले ज्यान गुमाएका छन् । अन्य तीन सय २६ जना घाइते भएका छन् । प्रदेश प्रहरी कार्यालय, जनकपुरका प्रवक्ता एसपी कृष्ण प्रसाईंका अनुसार १–११ कात्तिकमा उक्त प्रदेशमा एक सय ९४ वटा सवारी दुर्घटना भए ।

सप्तरीस्थित पूर्व-पश्चिम राजमार्गअन्तर्गत कञ्चनरूप नगरपालिका-२ बरमझियामा भएको दुर्घटनामा परी बुधबार बिहान एकजनाको ज्यान गयो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.१८च ७७३४ नम्बरको गाडीको ठक्करबाट कञ्चनरूप-२ का तिलक सुरैत यादवको घटनास्थलमै मृत्यु भएको हो । पैदल यात्री यादव पुरानो घरबाट चोकमा बनाएको नयाँ घरतर्फ जाँदै थिए ।

१ कात्तिकमा प्रदेश-२ मा ११ सवारी दुर्घटना भएका थिए, जसमा एकको मृत्यु भएको थियो भने १४ जना घाइते भएका थिए । यस्तै, २ कात्तिकमा नौ सवारी दुर्घटनामा १४ जना घाइते, ३ कात्तिकमा १३ सवारी दुर्घटनामा दुईको मृत्यु, १७ घाइते, ४ कात्तिकमा नौ सवारी दुर्घटनामा दुईको मृत्यु र १५ जना घाइते, ५ कात्तिक १४ सवारी दुर्घटनामा दुईको मृत्यु र १७ जना घाइते भएका थिए ।

यस्तै, ६ कात्तिकमा प्रदेश–२ मा नौ सवारी दुर्घटनामा एकको मृत्यु, २९ घाइते, ७ कात्तिकमा १९ दुर्घटनामा दुईको मृत्यु र २९ घाइते, ८ कात्तिकमा २८ दुर्घटनामा तीनको मृत्यु र ५३ घाइते, ९ कात्तिकमा ३६ दुर्घटनामा चारको मृत्यु र ६७ घाइते, १० कात्तिकमा ३३ वटा दुर्घटनामा ६ जनाको मृत्यु, ६२ जना घाइते तथा ११ कात्तिकमा १३ सवारी दुर्घटनामा एकको मृत्यु र १७ जना घाइते भएका थिए ।

प्रहरीका अनुसार सडक दुर्घटनाको मुख्य तीन कारणमध्ये पहिलो चालकको लापरबाही, दोस्रो सवारीसाधनको पार्टपुर्जामा समस्या र तेस्रो सडकको दूरवस्था हो । ‘त्यसमध्ये चालकको लापरबाहीका कारण बढी दुर्घटना भएको देखिन्छ,’ एसपी प्रसाईंले भने ।

फेसबुक प्रतिक्रियाहरु