शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • आफू सुकुम्बासी बन्दै विद्यालयलाई निःशुल्क जग्गा दान
रामेछाप बिशेष

आफू सुकुम्बासी बन्दै विद्यालयलाई निःशुल्क जग्गा दान

असोज २०

रामेछाप । लिखु तामाकोशी गाउँपालिका वडा नं-५ की ७५ वर्षिय धनमाया थापामगरले आफ्नो नाममा रहेको १० रोपनी जग्गा मध्ये ३ रोपनी १० आना जग्गा श्री बुद्धजनप्रिय माध्यमिक विद्यालयको नाममा दान दिएकी छिन् । विद्यालयको नाममा जग्गा नहुँदा विद्यालयको भवन निमार्ण हुन नसकेपछि धनमाया र उनका तीन भाई छोराहरु शिववहादुर, सुजे र काजिवहादुर थापामगरको सयुक्त नाममा रहेको कित्ता नंम्वर ८÷ख १८७ को जग्गा विद्यालयको नाममा मालपोत कार्यालय रामेछापमा आएर रजिष्ट्रस्टेसन पास गरि दिएका हुन् ।

नागदहमा विद्यालय संचालनको लागि धनमायाका श्रीमान् स्वर्गिय होमवहादुर थापामगरले २०३१ सालमा ५ रोपनी जग्गा दान गरेर प्राथमिक विद्यालय स्थापना गरेका थिए । अहिले ती दुवै जग्गाको चलनचल्ती अनुसारको मूल्य करिब ३० लाख पर्न जान्छ । नागदहमा नजिकै अन्य विद्यालय नभएपछि सोही विद्यालयको स्तरउन्नती गर्दै हाल माध्यमिक विद्यालय संञ्चालनमा आएको छ ।

माध्यमिक विद्यालय सञ्चालन पछि उक्त विद्यालयमा हाल ४ सय ५० जना विद्यार्थीहरु अध्ययनरत छन् । विद्यार्थीको चाँप वढेसँगै भवन अपुग भएको र विद्यालय हाताभित्र खेलकुद मैदानको समेत अभाव भएपछि त्यस विद्यालयका प्रअ राजुकुमार काफ्लेले जग्गा थप माग गरेपछि जग्गाधनी धनमायाले उक्त जग्गा विद्यालयलाई दान दिएकी हुन् ।

गाउँमा विद्यालय नहुँदा पहिला शिक्षा लिन धेरै टाढा जानु पर्ने थियो । पढन जाँदा चाहिने आवश्यक सामाग्री सहित जानु पर्ने थियो । गाउँमा विद्यालय भइदिए सहज हुने भन्दै आफ्ना स्वर्गीय श्रीमान् होमवहादुरले विद्यालयलाई जग्गा दान दिनु भयो । त्यसपछि गाउँमै विद्यालय सञ्चालन भयो । धेरै बालबालिकाले शिक्षा लिए । हाल विद्यालयमा पढने विद्यार्थी सँख्या बढेसँगै जग्गा अभाव भएपछि विद्यालयका शिक्षक र विद्यालयका व्यवस्थापन समितिका सदस्यहरुले समेत माग गरेकाले आफुले जग्गा दान दिएको जग्गाधनी धनमायाले बताइन ।

जग्गा अपुग हुँदा भवन र खेलकुद मैदान बनाउन समस्या हुँदै थियो । अब विद्यालयलाई आवश्यक पर्ने जग्गा प्राप्त भयो । अब तत्कालै एशियाली विकास वैंक मार्फत ६ करोड ५० लाख रुपैयाँमा नयाँ आधुनिक विद्यालय भवन निमार्ण हुन लागेको विद्यालय व्यवस्थापन समितिका सदस्य आशवहादुर तामाङले जानकारी दिए ।

उनले भने– विद्यालयको जग्गा अभावमा भवन निमार्ण गर्न सकेका थियनौं । भएको पुरानो भवन २०७२ सालको विनासकारी भुकम्पले क्षति पुर्याएपछि त्यही थोत्रो भवनमा जोखिम मोलेर विद्यालय सञ्चालन गराउँदै आएका थियौं । विद्यालयले जग्गा प्राप्त गरेसँगै अब नयाँ भवन निमार्णले गति लिने छ सदस्य तामाङ्गले बताए ।  

फेसबुक प्रतिक्रियाहरु