बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • राष्ट्रपतिद्वारा ५९४ जनालाई विभूषण प्रदान : २८९ कैदीबन्दीको कैद माफी मिनाहा
समाचार

राष्ट्रपतिद्वारा ५९४ जनालाई विभूषण प्रदान : २८९ कैदीबन्दीको कैद माफी मिनाहा

असोज ३,
काठमाण्डौ । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ सय ९४ जनालाई विभूषण प्रदान गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसका आधारमा भण्डारीले विभूषण प्रदान गर्नु भएकाे राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मानपदवीतर्फ सु-प्रसिद्ध प्रवल जनसेवा प्रथम १, प्रसिद्ध प्रवल जनसेवा द्वितीय ४, सुकीर्तिमय राष्ट्रद्वीप तृतीय ७, सुप्रवल जनसेवा तृतीय ८७, कीर्तिमय राष्ट्रद्वीप चतुर्थ ८, प्रवल जनसेवा श्री चतुर्थ २ सय ४२ र जनसेवा श्री १०४ जना गरी जम्मा ४ सय ५३ जनाले पाएका छन् ।

यस्तै विभिन्न विभूषणसहितको अलङ्कार १ सय १४ र पदक २७ जनाले पाएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिए ।

२ सय ८९ कैदीबन्दीको कैद माफी मिनाहा

राष्ट्रपति भण्डारीले संविधान दिवसको अवसरमा २ सय ८९ कैदीबन्दीको कैद माफी मिनाहा गरेकी हुन । राष्ट्रपति भण्डारीले हेमराज तुम्बाहाम्फे समेतका कैदीको कैद भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेकी हुन ।

नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसुर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम यही असोज ४ गतेदेखि लागू हुने गरी कैद माफी दिइएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

फेसबुक प्रतिक्रियाहरु