भदौ ३१
काठमाण्डाै । एकैदिन पाँच वर्ष यताकै धेरै पहिरोका कारण नारायणगढ – मुग्लिन सडकखण्ड बन्द भएको छ । आज बिहान चितवनको इच्छाकामना गाउँपालिका ६ चारकिलोमा पहिरो गएकाले अहिले यो सडकखण्डमा कुनैपनि गाडी चलेका छैनन् । पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । यो सडकखण्डमा बेलाबेला पहिरो जाने समस्याका कारण यात्रु र चालकले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ ।
एकैदिन पाँच वर्ष यताकै धेरै पहिरो
नारायणगढ – मुग्लिन सडक खण्डमा एकैदिन पाँच वर्ष यताकै धेरै ठाउँमा पहिरो खसेको छ । सडक खण्डको जुगेडीदेखि मुग्लिनसम्म विभिन्न ठाउँमा सोमबार राति साना ठूला गरी ४८ वटा पहिरो खसेका हुन् । डिभिजन सडक कार्यालय भरतपुरका इञ्जिनियर शिव खनालका अनुसार २०७२ साल यता यति धेरै पहिरो एकै पटक खसेको थिएन । खसेका पहिरोमध्ये ७० प्रतिशतभन्दा बढी नयाँ ठाउँमा खसेका छन् ।
जुगेडीदेखि दासढुङ्गासम्म अहिलेसम्म पहिरो नखसेका ठाउँमा पनि यस पटक पहिरो खसेको छ । मनसुनमा लगातारको पानीले गलेको जमिन ठूलो पानी परेपछि लेदोसहितको पहिरो खसेको थियो । चारकिलो, घुमाउने, सत्र किलो र पाँचकिलोमा ठूलो पहिरो र अरु ठाउँमा साना साना पहिरो खसेका हुन् ।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीले पहिरो खसेलगत्तै हटाउने काम हुँदै आएको बताउनुभयो । यो सडक काठमाण्डौ, पोखरा लगायतका शहरलाई तराईसँग जोड्ने मुख्य सडक हो ।
यसैबीच गोरुसिङगे सन्धिखर्क सडकखण्ड अहिले एकतर्फी मात्रै सञ्चालनमा छ । अर्घाखाँचीको शितगंगा नगरपालिका २ भुवनपाटामा पहिरो गएकाले एकतर्फी रुपमा मात्रै गाडी चलेका हुन् ।फाइल फोटो
फेसबुक प्रतिक्रियाहरु