भदौ २०
काठमाडौं । नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २८० पुगेकोे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दैै आएको नियमित प्रेस ब्रिफिङमा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप नौजनाको मृत्यु भएको जानकारी दिनुभयो । सोसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २८० पुगेको हो ।
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४०८ सहित नेपालमा थप एक हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा अहिलेसम्म जम्मा कोरोना संक्रमितको संख्या ४५ हजार २७७ पुगेको प्रवक्ता डा. गौतमले बताउनुभयो ।
नेपालमा हाल १७ हजार ८७० सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घन्टामा थप एक हजार ५६६ जना कोरोना संक्रमित ‘डिस्चार्ज’ भएका छन् । योसँगै शनिबारसम्म कोरोना निको हुनेको जम्मा संख्या २७ हजार १२७ पुगेको मन्त्रालयले जानकारी गराएको छ ।
उपचाररत् संक्रमितमध्ये १६७ जना आइसीयूमा रहेका छन् भने २४ जना भेन्टिलेटरमा उपचाररत् रहेका छन् ।
पछिल्लो २४ घन्टामा १२ हजार ४७३ जनाको ‘पीसीआर’ परीक्षण भएको छ । अहिलेसम्म देशभर सात लाख ५७ हजार ९६३ ओटा पीसीआर परीक्षण भएको छ । अहिले नेपालमा संस्थागत र ‘होम आइसोलेसन’मा गरी १७ हजार ८७० जना आइसोलेसनमा रहेका छन् । अहिले ताप्लेजुङ, सोलुखुम्बु, मुस्ताङ, मुगु, हुम्ला र डोल्पामा सक्रिय संक्रमितको संख्या शून्य रहेको जनाइएको छ ।
फेसबुक प्रतिक्रियाहरु