सोमवार, अशोज १७, २०७९
  • होमपेज
  • काँग्रेस हाक्ने महिला नेतृ कति छन् ?
राजनीति

काँग्रेस हाक्ने महिला नेतृ कति छन् ?

जुनेली न्युज, 

नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनमा सभापति बन्नका लागि नेताहरुको दौडधुप तीव्र छ । निर्धारित समय भन्दा एकवर्ष ढिला हुन लागेको महाधिवेशनबाट फेरि नेतृत्व हत्याउन वर्तमान सभापति शेरबहादुर देउवाले तयारी गरिरहेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य शेखर कोइराला सभापतिका आकांक्षी हुन् । तर, यो समूहमा मिलाएर १४ औं महाधिवेशनमा जाने संभावना रहेको नेताहरु बताउँछन् । १४ औं महाधिवेशनबाट पुरानो पार्टी हाक्ने लक्ष्यसहित नेताहरुले आ–आफ्नो गुटको आन्तरिक भेला तीव्र बनाएका छन् ।
तर, यही पार्टीको नेतृत्व हाक्नको लागि महिलानेतृहरु भने अहिलेसम्म तयार रहेको देखिदैन । १३ औँ महाधिवेसनमा जम्मा कोषाध्यक्षको जिम्मेवारी पाउनु बाहेक अरु पदमा पुरुषकै बर्चस्व रह्यो । महिलालाई देखाउनकै लागि केही सिटमा लग्नुबाहेक प्रतिस्पर्धा गरेर किन नेतृत्वमा आउन सकेका छैनन् ?
महिलाहरुलाई मुख्य पदमा नलगेको वा उनीहरुले आँट नदेखाएको ? प्रजातन्त्र, बहुदल र गणतन्त्र ल्याउन मुख्य भूमिका खेल्ने विपीको विरासत थेगेको कांग्रेसले महिला नेतृहरुको नेतृत्व नचाहेको हो त ? कि नेतृहरु असक्षम छन ? कि पुरुष नेताहरुले महिलानेतृमाथि नियन्त्रण जमाएका हुन् ?
महिलाको हक, अधिकारका लागि आवाज उठाउने पहिलो महिला भनेर काग्रेस नेतृ स्वर्गीय मंगलदेवी सिंहलाई चिनिन्छ । उनले वि.स २००४ सालमा भूमिगत संगठनको रुपमा नेपाल महिला संघको स्थापना गरेकी थिइन् । त्यसपछि काँग्रेसमा महिला नेतृहरुको संख्या बढ्यो तर नेतृत्वमा कोही पुगेनन् ।

संविधानले हरेक तहमा महिला सहभागिता ३३ प्रतिशत हुनुपर्ने बाध्यात्मक व्यवस्था भएपनि त्यसको पालना राजनीतिक दलले नै गरेका छैनन् । पार्टीको उच्च पद र निर्णायक भूमिकामा महिला सहभागिता नगन्य छ । आसन्न १४ औं महाधिवेशनमा महिला नेतृहरुले उठाउनुपर्ने प्रश्न यही हो ।
शैलजा आचार्य र सुजता कोइराला उपप्रधानमन्त्रीसम्म बन्न सफल भए । तर, पार्टीभित्र भने नेतृत्व हाँक्ने ठाउँमा पुग्नै सकेनन् ।
त्यसो त कांग्रेसको ११ औँ महाधिवेशनसम्म महिलाहरु कुनै मुख्य पदमा पुग्नै सकेका थिएनन् । १२ औँ महाधिवेशनबाट चित्रलेखा यादव र १३ औँ महाधिवेशनबाट सीतादेखि यादवलाई पार्टीले कोषाध्यक्ष चयन गर्यो । तर माथिल्ला पद र पार्टीकै नेतृत्वमा भने महिला नेतृहरु पुग्नको लागि अझै कति औँ महाधिवेशन कुनुपर्ने हो, अनुमाननै गर्न सकिदैँन । आसन्न महाधिवेशनको नेतृत्वका लागि सुजता कोइरालाले दाबी गरेकी छिन । यो राम्रै कुरा हो कम्तीमा उनले पार्टी हाक्ने घोषणा त गरिन । तर, उनको यो घोषणा आगामी ६ महिनासम्म टिक्छ कि टिक्दैन ।

वार्गेनिङका लागि मुख्य पदमा उम्मेदवारी दाबी गर्ने र पछि तल्ला पदहरुमा सम्झौता गर्ने कांग्रेसभित्रको राजनीति अझै परिवर्तन हुन सकेको छैन ।
केन्द्रिय सदस्य तथा नेतृ डिला संग्रौला पनि कार्यकारी पदमा उठ्ने तयारीमा छिन । उनले पनि अन्तिम समयसम्म आफ्नो अडान कायम राख्छिन कि राख्दिनन् महाधिवेशनसम्म कुर्नुपर्ने हुन्छ । जबसम्म महिला नेतृहरु चुनावमा भिडेर भएपनि नेतृत्वमा पुग्छु, पुरुष नेतालाई टक्कर दिन्छु भन्ने साहस देखाउन सक्तैनन्, तबसम्म महिला सहभागिता पुरुष नेताको निगाहमै सीमित हुन्छ ।
काँग्रेसको नयाँ विधान अनुसार यो पटकको अधिवेशनले पनि एकजना महिलालाई सहमहामन्त्री पद दिने छ । त्यो पनि प्रतिस्पर्धाबाट नभई प्रतिनिधित्वका लागि ।
२०६२–६३ को जनआन्दोलनपछि समानुपातिक निर्वाचन प्रणालीले धेरै महिला नेपाली राजनीतिमा सक्रिय भए । सांसददेखि राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुखसम्म पुग्ने अवसर पाए । स्थानीय तहको निर्वाचनमा ४० प्रतिशत महिला विजयी भए पनि धेरैजसो उपमेयरमा नै सीमित भए । २०७२ असोजमा संविधान जारी भएपछि आजसम्म बनेका मन्त्रिपरिषदमा एकतिहाइ महिला सहभागिता हुन सकेको छैन । यसले महिला सहभागिता नेतृत्व तहमा किन पुगेन भन्ने प्रश्न उठाएको छ ।

यस्तै परिस्थितिमा हुन लागेको कांग्रेसको महाधिवेशनमा पार्टी नेतृत्व हाँक्नेगरी महिला नेतृहरुले तयारी गर्नुपर्ने छ । अवसर कसैले दिने होइन, लडेर लिनुपर्ने स्व. मंगलादेवीको साहसबाट कसैले प्रेरणा लिएभने त्यो संभावना छ । महाधिवेशनबाट जीत हार हुन्छ । जीत हारलाई आधार मानेर पुरुषसँग प्रतिस्पर्धा नै गर्न डराएपछि नेतृत्व पाउने संभावना रहँदैन ।
आसन्न महाधिवेशनमा महिला नेतृहरुले कसरी आफूलाई अगाडि बढाउँछन् ? त्यसमै महिलाहरुको क्षमता परीक्षण पनि हुनेछ ।

संवाददाता  राधा ढुंगाना 

फेसबुक प्रतिक्रियाहरु