मङ्लबार, अशोज १८, २०७९
  • होमपेज
  • लकडाउन अवधिभर राजुको व्यस्तता जनउद्धार र राहतमा खटिँदा आफ्नै आहत बिर्सिए
समाचार

लकडाउन अवधिभर राजुको व्यस्तता जनउद्धार र राहतमा खटिँदा आफ्नै आहत बिर्सिए

 विश्व महामारीको रूप लिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) ले अहिले सबैलाई आतंकित तुल्याएको छ । हालसम्म झण्डै १८ करोड ५ लाख मानिस यसको संक्रमणले भेटिसकेको छ भने करिब ७ लाख शिकार भइसकेका छन् । नेपाल पनि यो रोगबाट अछुतो रहन सकेको छैन नेपालमा २१ हजारभन्दा बढी नागरिकलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ– जसमध्ये लगभग ५ दर्जनको ज्यान गएको छ । अझ पछिल्ला दिनमा नेपालमा कोभिड–१९ को जोखिम बढ्दो छ । छिमेकी मुलुक चीनको हुवेई प्रान्तको बुहान सहरबाट सुरु भएको कोरोना संक्रमणकै कारण ५ जनवरी २०२० मा त्यहाँ एक व्यक्तिको निधन भएपछि यो क्रमशः फैलिएको हो ।
माघको पहिलो साता चीनबाट नेपाल आएका एक नेपाली विद्यार्थीमा कोरोना संक्रमण रहेको पुष्टि हुँदा सरकारले माघ १० गते सोको जानकारी गराए पनि तत्काल सावधानी अपनाएन । सीमामा कडाइ, जाँच, देशव्यापी लकडाउन गर्नेजस्ता नीति–कार्यक्रम पनि ढिलाइ भयो– जसले गर्दा मुलुकमा कोरोनाको संक्रमण फैलिने पर्याप्त समय मिल्यो । कोरोना संक्रमणको कारण देखाउँदै सरकारले २०७६ चैत ११ गतेबाट बल्ल मुलुकमा लकडाउन घोषणा ग¥यो– जुन १ सय २० दिनपछि २०७७ साउन ६ गते मध्यरातिबाट हटाइयो । जब देशमा लकडाउनको घोषणा भयो– तब आम नागरिक बन्धक बने । हुनखाने वर्गलाई त लकडाउनले खासै असर पुगेन, केबल फुर्सदिलो बने । तर, दिनभर दश नङ्ग्रा खियाएर बिहान–बेलुकाको छाक टार्ने गरिखाने मजदुरलगायत वर्ग भने लकडाउनबाट निकै प्रभावित–प्रताडित बन्न पुगे । यस्तो अवस्थामा सजकता, संयमता र सचेतता अपनाउँदै नागरिकको समस्या, पिरमर्का, उद्धार तथा राहतमा अहोरात्र खट्नुपर्ने सरकारी अधिकारी एवं राजनीतिक दलका शीर्ष नेता भने कोरोना प्रतिरोधात्मक दरबारभित्र पसे । नागरिकको आर्थिक, सामाजिक, मनोवैज्ञानिक पीडाप्रति विमुखझैं बने । अझ कतिपय नेता त लकडाउनको घोषणा नै नभई कोरोना भाइरस शब्द सुन्नासाथ ‘आफू बाहिर निस्कन नमिल्ने’ घरभित्र छिरिसकेको जनाउ दिँदै सामाजिक सञ्जालमार्फत मुस्कुराउन हतारो गरे ।
पलपलमा भ्रष्टाचार, व्यक्तिवाद, नातावाद, अराजकतालगायत हावी भएर नेपाली राजनीति र दलीय नेता दुर्गन्धित बनिरहेको ठीक यही बेला एकाएक एउटा यस्तो व्यक्तिको उदय भयो– जसबाट हजारौं पीडितले अभिभावकत्व अनुभूति गर्न पाए । नेपाल दलित विद्यार्थी संघका केन्द्रीय अध्यक्ष तथा नेपाली काँग्रेसका कान्छा महाधिवेशन प्रतिनिधि, निष्कलंक, जुझारु नेता राजु सुनारले लकडाउनबाट प्रत्यक्ष÷अप्रत्यक्ष पीडितका पक्षमा यस्तो सक्रिएता देखाउनुभएको हो । उसो त निस्वार्थीभावको समाजसेवी कदम उहाँको हकमा यो पहिलो भने होइन, बाल्यकालदेखि नै सहयोगी स्वभावका उहाँले राजनीतिमा सक्रिय भएबाटै उल्लेख्य सामाजिक कार्य गर्दै आउनुभएको छ । तर, अरुबेलाको भन्दा यतिबेलाको समाजसेवामा आकाश–पातालको भिन्नता छ । सहज अवस्थामा गरिने कामभन्दा विषम परिस्थितिमा हुने काम कैयन गुणा ठूलो र मूल्यवान् हुन्छ । यही तथ्यलाई आत्मसात् गर्दै राजु कोभिड–१९ को संक्रमण र महामारीका बेलामा पनि आफ्नो स्वास्थ्यको कुनै वास्ता नगरी ज्यानै जाखिममा राखेर जनउद्धार र राहत संकलन, व्यवस्थापन र वितरणमा खट्नुभएको हो । ‘स्वास्थ्य सामग्री, राहत लिएर म आफैं पीडितको ढोका÷ढोका, कोठा÷कोठा, घर÷घर र टोलबस्तीमा पुगें’ राजु गर्व गर्नुहुन्छ– ‘लकडाउन अवधिभर बिहानदेखि बेलुकासम्म एकछिन पनि फुर्सद भएन । कति दिन त खाजा–खानाको कुनै टुंगो नै रहेन, भोकभोकै खटिरहेँ । उहाँहरूको दुःखको व्यथा सुन्दा र सहयोग गर्दागर्दै आफ्नै आहत बिर्सिएँ ।’ हुन पनि लकडाउन घोषणाको केही दिनअघि राजु जन्मथलो सिन्धुपाल्चोकको केउरेनी पुग्नुभएको रहेछ ।
एक त समाजसेवी त्यसमाथि पनि राजनीतिकर्मी लकडाउनका बेला त त्यहाँ बस्ने सवाल नै रहेन । त्यसपछि चैत १५ गते उहाँ काठमाडौं फर्कनुभयो । ‘यहाँ आउँदा जताततैबाट फोन बर्षिन थाल्यो, केही मानिसमा उकुसमुकुस भएको पाएँ, कोही खान नपाएर बिजोगमा अवस्था देखेँ, त्यस्तो बेला म ढुक्कले घरमा बस्न सकिनँ’ राजु त्यो संकटको क्षण स्मरण गर्नुहुन्छ– ‘अनि आएकै दिनबाट, स्वास्थ्य सामग्री र राहत संकलन कार्यमा लागेँ ।’ नेपालको सन्दर्भमा कोभिड–१९ र लकडाउन नितान्त नयाँ विषय भएकाले उहाँ सुरुमा काठमाडौं क्षेत्र नं.– ३ अन्तर्गत गोकर्णेश्वर नगरको नयाँबस्तीमा काउन्सिलङमा लाग्नुभयो । त्यसपछि मास्क र सेनिटाइजर वितरण थाल्नुभयो । त्यो बेलासम्म धेरै ठाउँमा खाना तथा राहतको अभाव खड्किएको महशुस हुन थाल्यो उहाँमा । विशेषतः अध्ययनका लागि बाहिरी जिल्लाबाट राजधानी आएर कोठाभाडामा बसेका विद्यार्थी, दलित, विपन्न, जेहेन्दार, मजदुर समुदायले राहतका लागि अनुनयविनय गर्न थाले । हुन त केन्द्र र स्थानीय सरकारले राहतको घोषणा नगरेका होइनन् । तर, त्यो काहीँ ‘हात्तीको मुखमा जिरा’ भयो त काहीँ उल्टै अनियमितता र वितरकभनाउँदाहरूले आफू तथा आफूनिकटका व्यक्तिको घरमा पु¥याउने काम गरे ।
यस्तै विकृतिलाई नजिकबाट नियाल्नुभएका राजुले चाहिँ विभिन्न सहयोगीसंस्था, दातृ निकायसँग अनुरोध गरेर नियमित खाजा, खानाको व्यवस्थासहित केही खाद्य सामग्री जुटाउनुभयो । र, सवारी पास बनाएर मोटरसाइकल, गाडीमार्फत राहत संकलन तथा वितरण गर्न थाल्नुभयो । यो क्रम लकडाउन अवधिभर चल्यो । नयाँबस्तीबाट थालिएको यो अभियान गोकर्णेश्वर नगरको विभिन्न स्थान हुँदै कागेश्वरी मनोहरा, शंकरापुर, बुढानीलकण्ठ, कामपा, चन्द्रागिरी, कीर्तिपुर नपा तथा ललितपुर र भक्तपुरका केही वडासम्म फैलाउनुभयो राजुले आफूनेतृत्वको टोलीमार्फत । उहाँ दावी गर्नुहुन्छ– ‘२३ देखि २५ सय बोरा चामल र त्यही अनुपातमा दाल, तेल, नूनलगायतका राहत सामग्री वितरण गरियो ।’ यतिमात्रै होइन– उहाँले सोही अन्तरालमा कति पीडितलाई व्यक्तिगत तवरबाटै भौतिक र आर्थिक सहयोग गर्नुभयो भने ५ जना विपन्न सुत्केरी पूर्णरूपमा उतार्नुभयो । त्यस्तै राजुले अपाङ्गता तथा दृष्टिहीन विभिन्न आकस्मिक र दीर्घरोगीको समेत उपचार गराउनुभयो । यही क्रममा गाउँ फर्कन चाहने करिब डेढ सय बढी व्यक्तिलाई निःशुल्क  गाडीको व्यवस्था गरी उपत्यकाबाहिर पनि पठाउनुभयो ।

राजुको यस्तो सराहनीय कार्यका लागि पूर्व वाणिज्यमन्त्री, नेका केन्द्रीय सदस्य तथा नेपाल दलित संघका केन्द्रीय अध्यक्ष मीनबहादुर विश्वकर्मा, नेपाल दलित संघका केन्द्रीय उपाध्यक्ष रामकृष्ण लकान्द्री, नेपालि काँग्रेस काठमाडौँ क्षेत्र नं ३ का महाधिबेशन प्रतिनिधि एवं युवा नेता दिपक रिसाल,  धार्मिक तथा आध्यात्मिक सद्भावनादूत रेखा अर्याल, नेका युवा नेता मनराज श्रेष्ठ, एन्जल हेल्थ केयरका प्रोपाइटर प्रेरणा मैनाली, धार्मिक तथा आध्यात्मिक व्यक्तित्व कुसुम गुरुङ खतिवडा, युवा उद्यमी शेरबहादुर तामाङ तथा टेगार फाउण्डेशन नेपालका प्रतिनिधि लगायतले विशेष सहयोग पु¥याउनुभएको हो । र त समाजसेवाको भावले ओतप्रोत राजुलाई गैर आवासीय नेपालीहरुको संगठन (एनआरएनए) ले ‘कोभिड–१९ हिरो अवार्ड’ द्वारा सम्मान गरेको छ ।

स्रोत : विमर्श साप्ताहिक

फेसबुक प्रतिक्रियाहरु