शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • एकैदिन ५७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९१ पुग्यो
समाचार

एकैदिन ५७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९१ पुग्यो

पर्सामा ३९, रुपन्देहीमा ९, कपिलवस्तुमा ८ र बारामा १ जनामा कोरोना पुष्टि

३० वैशाख,

काठमाडौं । नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १९१ पुगेको हो । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना  रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् ।

थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

हालसम्म उदयपुरमा ३२, पर्सामा ६४, बाँकेमा २४, कपिलवस्तुमा २९, रुपन्देहीमा १६, काठमाडौंमा ५, कैलालीमा ४, रौतहट र बारामा ३/३ तथा बागलुङ, चितवन र झापामा २/२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, सर्लाही, सप्तरी, बर्दिया र कञ्चनपुरमा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएकामध्ये ३३ जना निको भएका छन् । तर, नारायणी अस्पताल वीरगन्जबाट कोभिड–१९ निको भएर गएका दुई जनामा पीसीआर परीक्षणमा पोजिटिभ देखिएपछि उनीहरूलाई थप परीक्षणका लागि अस्पतालमा पुन: भर्ना गरिएको छ । त्यसैगरी काठमाडौको सनसिटी अपार्टमेन्टमा बस्ने ५२ वर्षीय ती व्यक्तिको पनि पीसीआर रिपोर्ट पोजिटिभ देखिएको छ । पाटन अस्पतालमा उपचारपछि डिस्चार्ज भएका उनलाई पनि पुन: अस्पताल भर्ना गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु