आइतवार, फाल्गुन १७, २०८२
  • होमपेज
  • खेलकुद महोत्सव गरि ग्रीन आर्मी नेपालले १३ औँ अन्तर्राष्ट्रिय दिवस मनायो
Breaking News

खेलकुद महोत्सव गरि ग्रीन आर्मी नेपालले १३ औँ अन्तर्राष्ट्रिय दिवस मनायो

काठमाडौँ । १३औँ अन्तर्राष्ट्रिय ग्रीन आर्मी दिवसको अवसरमा आयोजित वार्षिक खेलकुद महोत्सव, पुरस्कार वितरण तथा वार्षिक उत्सव समारोह २०८२ भव्य रूपमा सम्पन्न भएको छ ।
निर्वाचन पूर्वसन्ध्याको व्यस्त समयका बाबजुद कार्यक्रम उल्लेखनीय सहभागितासहित सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख दीपक रिसाल रहनुभएको थियो भने वडा नं. ४ का वडा अध्यक्ष जयराम महत विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा विभिन्न विद्यालय तथा कलेजका प्रमुख एवं प्रतिनिधिहरू, जगडोल सामुदायिक वन तथा राष्ट्रिय शहीद स्मारक तथा निजामती पार्कका अध्यक्ष सुदर्शन सिग्देल, गायिका कुन्ती मोक्तान लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

संस्थाका प्रमुख सबिन शर्माले सभापतिको भूमिका निर्वाह गर्नुभएको उक्त समारोहमा संरक्षक महेन्द्र भट्टराई तथा नगर प्रमुख दीपक रिसालले अतिथिहरूलाई सम्मान गर्नुका साथै विभिन्न खेल विधामा उत्कृष्ट हुने खेलाडी तथा टिमलाई पुरस्कार वितरण गर्नुभयो ।
कार्यक्रमअन्तर्गत काठमाडौँ जिल्ला स्तरीय प्रतिस्पर्धा तथा ग्रीन आर्मीसँग आबद्ध विद्यालयहरूबीच अन्तर विद्यालय प्रतिस्पर्धा सञ्चालन गरिएको थियो । विभिन्न विद्याका १० खेलमा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीहरू पुरस्कृत भएका छन् ।

यसै अवसरमा अमर विष्टलाई गोकर्णेश्वर नगरपालिकाको नगर कमान्डरको जिम्मेवारीमा नियुक्त गरिएको घोषणा गरिएको छ । साथै नयन राज विष्टलाई संस्थाको आजीवन सदस्य पदमा मनोनयन गरिएको आयोजकले जानकारी दिएको छ ।

समारोहमा बोल्दै वक्ताहरूले युवामा अनुशासन, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्व अभिवृद्धिका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गरेका थिए । आयोजकका अनुसार कार्यक्रमले विद्यार्थीमा सकारात्मक सोच र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न टेवा पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु