सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • चारतारे पार्टीमा उदाएका दुई ताराका चुनौती
Breaking News

चारतारे पार्टीमा उदाएका दुई ताराका चुनौती

वस्तुनिष्ठरूपमा विश्लेषण गर्दा यसपटकको बैठकमार्फत नीति र नेतृत्व दुवै दृष्टिले संक्रमणकालबाट गुज्रिरहेको कांग्रेसमा गगन-विश्व वैकल्पिक नेताका रूपमा स्थापित भएका छन् । अर्थात् चारतारे पार्टी कांग्रेसमा गगन र विश्व दुई ताराका रूपमा उदाएका छन् ।

एक वर्ष लामो अन्तरालपछि बसेको कांग्रेसको बहुप्रतीक्षित र बहुचर्चित केन्द्रीय समिति बैठक अपेक्षाकृत उपलब्धिमूलक भएन । यद्यपि बैठकले तत्कालीन र दीर्घकालीन दुवै दृष्टिले अर्थपूर्ण मिश्रित राजनीतिक सन्देश प्रवाह गरेको छ ।

महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेका कार्यसूची र कार्ययोजना केन्द्रीय समितिबाट पारित भएपछि सकारात्मक सन्देश सम्प्रेषण भएको छ र कांग्रेसले पुनर्जीवन पाउने आशाको किरण देखिएको छ ।

तर महामन्त्रीद्वयद्वारा प्रस्तुत गरिएको कार्यसूचीमा छलफल नगरी अतिरिक्त र विवादित विषयमा गरिएको अनावश्यक आरोप-प्रत्यारोप र चर्चा फेसबुक प्रत्यक्ष प्रसारणमा देखेपछि जनता र कार्यकर्ता भने निराश भएका छन् ।

इतिहासमा पहिलोपटक महामन्त्रीले नै नोट अफ डिसेन्ट लेख्नुपर्ने दुर्भाग्यपूर्ण परिस्थिति सिर्जना भएपछि कांग्रेसको भविष्य र रुपान्तरणको सम्भावना थप कमजोर भएको हो ? भन्ने आशंका जन्मिएका छन् ।

बैठकको प्रत्यक्ष प्रसारण गरेर आफूलाई शक्तिशाली देखाउने र नेतृत्व परिवर्तनको पक्षमा बहस-पैरवी गर्दै आएका महामन्त्रीद्वयलाई ‘हैसियत देखाइदिने’ सभापति शेरबहादुर देउवाको रणनीति थियो । सभापति भर्सेस् महामन्त्री भएको बैठकको परिदृश्यको आधारमा विश्लेषण गर्दा पुरानो र स्थायी गुट विघटन भई सैद्धान्तिक र वैचारिक आधारमा नयाँ ध्रुवीकरण हुने पूर्वसंकेत देखिएको छ, जुन कांग्रेसको भविष्यको दृष्टिले सकारात्मक हो ।

तर केन्द्रीय समितिको बैठकमा दृढतापूर्वक नेतृत्वलाई चुनौती दिंदै आत्मविश्वासका साथ आफ्ना विचार, दृष्टिकोण र कार्यक्रम प्रस्तुत गरेको प्रत्यक्ष जनताले देखेपछि गगन-विश्वले थप राजनीतिक माइलेज हासिल गरेका छन् । त्यसैले प्रत्यक्ष प्रसारणको राजनीतिक लाभ पनि प्रकारान्तरले गगन-विश्वले हासिल गरेका छन् ।

बैठकमार्फत गगन-विश्वले सभापतिलाई विधानमा अनुबन्ध गर्न तथा पुराना पुस्ताका नेतृत्वपंक्तिलाई सकारात्मक दवाव दिन सफल भएका छन् । बैठकमा जतिसुकै अवाञ्छित बहस-विवाद तथा अतिरन्जित आरोप-प्रत्यारोप भएपनि अन्ततः पार्टी सुदृढीकरण, सुधार र रुपान्तरणका दृष्टिले केही महत्वपूर्ण र दूरगामी निर्णयसमेत भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु