मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • मिटरब्याज पीडितको प्रदर्शनमा रवि लामिछाने पनि सहभागी, तत्काल समाधान गर्न माग
आर्थिक

मिटरब्याज पीडितको प्रदर्शनमा रवि लामिछाने पनि सहभागी, तत्काल समाधान गर्न माग

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मिटरब्याज पीडितहरुको प्रदर्शनमा सहभागी भएर ऐक्यबद्धता जनाएका छन् । ११ दिन पैदल हिँडेर सर्लाहीबाट काठमाडौँ आइपुगेका पीडितहरुसँग भेट्दै उनले मिटरब्याजको समस्या तत्काल समाधान गर्न सरकारसँग माग समेत गरे ।

मंगलवार विरोध प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडितहरुलाई प्रदर्शनस्थ्लमा भेट्दै उनले सरकारले तत्काल मिटरब्याज पीडितहरुको समस्या समाधान गर्नुपर्ने बताएका हुन् । पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेले आफू सरकारमा हुँदा मिटरब्याजको समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम थालेको र यसलाई समाधान गर्न कुनै ठूलो समस्या नरहेको बताए । उनले आफ्नो पार्टी पीडितहरुको साथमा सदैव रहेको पनि बताए ।

सभापति लामिछानेले मिटरब्याजको समस्यालाई राजनीतिकरण गर्न नहुने पनि बताए । उनले मिटरब्याज पीडितहरुको मुद्दामा टेकेर आफ्नो पार्टीले राजनीतिको रोटी नसेक्ने भन्दै वास्तविक पीडितहरुको समस्या समाधान गर्ने वाता दिए ।

‘हाम्रो पार्टी र हामी तपाईहरुको साथमा छौँ, यसलाई राजनीतिकरण गर्नको लागि होइन, तपाईहरुको मुद्दामा टेकेर आफ्नो राजनीतिको रोटी सेक्न होइन, वास्तविक पीडितहरु हुनुहुन्छ भन्ने थाहा पाएपछि तपाईहरुलाई साथ दिनको लागि हामी आएका हौँ,’ लामिछानेले भने, ‘हामी यसबाट लाभ लिन होइन, तपाईहरुको साथमा हामी छौँ । तल्लो वर्गको मानिसलाई जब प्राथमिकतामा राखिन्छ, तब मात्रै समस्या समाधान हुन्छ, मैले मन्त्री बनेर काम गर्दा यस्ता समस्यालाई पहिलो प्राथमिकतामा राखेको थियौँ । पहिलो प्राथमिकतामा गरिब, किसानलाई राखेपछि मात्रै यो समाधान हुन्छ । मिटब्याजको समस्या पहिलो प्राथमिकतामा राख्नुपर्छ र रातारात समस्या समाधान गर्नुपर्छ । राज्यले उहाँहरुलाई राम्रोसँग बस्ने सुविधा दिनुपर्छ । उहाँहरुलाई सुरक्षित बनाउनुपर्छ । उहाँहरुको माग तुरुन्त समाधान गर्नुपर्छ ।’

मिटरब्याज पीडितहरुको विरोध प्रदर्शनमा रास्वपाका उपसभापति एवं संसदीय दलका नेता डोलप्रसाद अर्याल लगायत नेताहरु पनि सहभागी थिए ।

फेसबुक प्रतिक्रियाहरु