शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कांग्रेसले टुंगो लगायो पाँच मन्त्रीको नाम
Breaking News

कांग्रेसले टुंगो लगायो पाँच मन्त्रीको नाम

कांग्रेसबाट सरकारमा जाने नेताहरुमा पाँच जनाको नाम टुंगिएको पार्टी स्रोत बताउँछ । केही नाममा भने अझै अन्योल देखिन्छ ।

१२ चैत, काठमाडौं ।

सत्ताको प्रमुख दल नेपाली कांग्रेसबाट सरकारमा सम्मिलित हुने व्यक्तिहरुमा पाँच जनाको नाम टुंगिसकेको नेताहरुले दाबी गरेका छन् ।

कांग्रेसले आठ मन्त्रालयको दाबी गरे पनि सात मन्त्रालयमा चित्त बुझाउनुपर्नेमा नेताहरु विश्वस्त छन् । सात मन्त्री र एक राज्यमन्त्री हुने आकलन कांग्रेसभित्र छ ।

शीर्ष तहमा भएको छलफल र सभापति शेरबहादुर देउवाले दिएको आश्वासन लगायतले पाँच जनाको नाम टुंगिएजस्तै छ । कांग्रेस नेताहरुका अनुसार उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ मन्त्री बन्ने निश्चित छ ।

प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यद्वय एनपी साउद र सीता गुरुङ मन्त्री हुनेको सूचीमा रहेको कांग्रेस स्रोतको दाबी छ ।

गृह मन्त्रालयको दाबी गरेका उपसभापति खड्का पार्टीबाट नेतृत्व गरेर सरकारमा जाने भएका छन् । तथापि, उनले गृहमन्त्रालय पाउने सम्भावना क्षीण छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहमन्त्रालय आफ्नै दलबाट बनाउने पक्षमा छन् । गृह मन्त्रालय सम्भव नभए पनि खड्का पार्टीबाट नेतृत्व गरेर जान सहमत देखिएको शीर्ष तहका एक नेता बताउँछन् ।

पाँच जनाको नाम करिब टुंगिएकाले २ मन्त्री र १ राज्यमन्त्रीको नाम पार्टीभित्र चयन हुन बाँकी छ । सात मन्त्रीबाट संस्थापनइतरले ३ माग गरे पनि दुई जना मात्रै पाउने अवस्था रहेको नेताहरु बताउँछन् । त्यसो हुँदा संस्थापन पक्षले मन्त्री र राज्यमन्त्री १/१ र संस्थापनइतरले १ जना मन्त्रीको नाम टुंगो लगाउनुपर्ने हुन्छ ।

अर्का उपसभापति गुरुङ संस्थापनइतरबाट मन्त्री हुने पहिलो सूचीमा छन् । संस्थापनइतरका नेताहरुका अनुसार शेखर-गगन समूहबाट गुरुङको नाम टुंगिएजस्तै हो । संस्थापनइतरमा पहिलो वरीयता हुनुको साथै जनजाति हुनुको लाभ उनले उठाउने भएका छन् ।

सभापति देउवाले उपसभापति गुरुङलाई मन्त्रीको वचन दिइसकेको संस्थापन पक्षका शीर्ष नेताले दाबी गरे । अघिल्लो साता गुरुङ निवासमा भेट्न गएका कार्यकर्तालाई आफू मन्त्री बन्न लागेको उनले सुनाएका थिए ।

सभापति शेरबहादुर देउवाको सर्वाधिक जोडबल प्रवक्ता डा. प्रकाशशरण महतमा छ । देउवाले अर्थमन्त्रीको पदमा महतलाई पुर्‍याउन बल गरिरहेका छन् । नेतृत्व गरेर जाने इच्छा सहित महतले उपसभापति खड्कालाई रोक्न खोजिरहेको कांग्रेसभित्र चर्चा हुँदै आएको छ ।

अर्थ मन्त्रालयमा खड्काले जिम्मेवारी सम्हाले भने महतले परराष्ट्र मन्त्रीको दाबी गर्ने कांग्रेसका एक नेता बताउँछन् । महतसँग परराष्ट्र मन्त्रालय सम्हालेको अनुभव पनि छ । तर, महत निकट एक नेताका अनुसार अर्थ मन्त्रालय बाहेकमा उनको कम रुचि छ । उद्योगपति विनोद चौधरीको पनि यो मन्त्रालयमा जानका लागि तीव्र लबिङ छ ।

सहमहामन्त्री किशोर सिंह राठोर यसपटक मन्त्री भइछाड्ने पक्षमा छन् । सभापति देउवाले आश्वासन दिए पनि राठोर ढुक्क भने भइसकेका छैनन् । मन्त्री हुने दौडमा संस्थापनबाट रामहरि खतिवडाको चर्चा अघिल्लो पङ्तिमा छ । ‘संख्या र मन्त्रालयको छलफल हुन अझै २/३ दिन लाग्ला जस्तो छ’ खतिवडाले अनलाइनखबरसँग भने ।

तेजुलाल चौधरी, अजय चौरसिया र रमेश रिजाल मधेशबाट मन्त्रीका आकांक्षी हुन् । चौधरी संस्थापनइतरका हुन् । सभापति देउवाले चौरसिया र रिजाल मध्येबाट एक जना रोजे भने संस्थापनइतरका चौधरी मन्त्री हुनबाट वञ्चित हुन्छन् । चौधरी राष्ट्रपति रामचन्द्र पौडेल निकट हुन् ।

भर्खर राष्ट्रपतिमा पौडेल पुगेकाले उनी पक्षीयलाई देउवाले मन्त्री नबनाउने सभापति निकट एक नेताले बताए । ‘रामचन्द्र भर्खर राष्ट्रपति हुनुभएको छ । उहाँले भाग खोज्नुहुन्न’ संस्थापन पक्षका नेता भन्छन् । चौधौं महाधिवेशनबाट पौडेल समूहविहीन भएपछि चौधरी शेखर पक्षमा लागेका थिए ।

संस्थापन समूहबाट मोहन बस्नेत, उदयशमशेर राणा, वीरबहादुर बलायर लगायत पनि मन्त्रीको तीव्र आकांक्षी छन् । नेता शशांक कोइरालाले आफ्नो तर्फबाट १ जना मन्त्री हुनुपर्ने माग अघि सारेका छन् । दीपक गिरी र दीपक खड्का मध्ये एक जनालाई उनले मन्त्री बनाउन चाहेका छन् । संस्थापनइतर समूहमा रहेका गिरी नेता शशांक निकट छन् । उनकै पहलमा गत साता इतर समूहको भेला समेत भएको थियो ।

संस्थापनइतरमा जीवन परियार, बद्री पाण्डे, सञ्जय गौतम, डिगबहादुर लिम्बु मन्त्रीको आकांक्षी छन् । भौगोलिकता अनुसार मन्त्री छनोट मापदण्ड हुँदा सुदूरपश्चिमबाट साउद मन्त्री बने भने सहमहामन्त्री बद्री पाण्डेसहित बलायरको मन्त्री हुने बाटो रोकिनसक्छ । गत बिहीबार बसेको संस्थापनइतरको बैठकमा बोल्ने क्रममा नेता शेखरले मन्त्री हुन नपाए चित्त नदुखाउन आफूपक्षीय सांसदहरुसँग आग्रह गरेका थिए ।

युवापुस्ताबाट मन्त्री हुनेको नाममा प्रदीप पौडेलको चर्चा छ । पौडेलको पक्षमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पनि सकारात्मक छन् ।

मन्त्री बनाउनका लागि पार्टीले समावेशिता, योगदान, प्रादेशिक सन्तुलन र क्षमतालाई मापदण्ड बनाएको छ ।

कांग्रेसले अर्थ, परराष्ट्र र रक्षासहित ७ मन्त्रालय पाउने सम्भावना छ । पार्टीले कुन-कुन मन्त्रालय पाउँछ भन्ने निश्चित भएसँगै त्यस अनुसार व्यक्ति छनोट हुने नेताहरु बताउँछन् । सोमबारसम्म मन्त्रिपरिषद् विस्तार हुने भनिए पनि आइतवार थप प्रगति भएको छैन ।

फेसबुक प्रतिक्रियाहरु