बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कांग्रेसको महामन्त्रीमा गगन र बिश्वप्रकाशबिच भिडन्त, जित कसको होला त ?
Breaking News

कांग्रेसको महामन्त्रीमा गगन र बिश्वप्रकाशबिच भिडन्त, जित कसको होला त ?

जुनेली न्यूज, काठमाण्डौ | नेपाली कांग्रेसका चर्चित दुई युवा अनुहार हुन् गगन थापा र विश्वप्रकाश शर्मा । अहिले पार्टी प्रवक्ता र यसअघि नेविसंघको अध्यक्ष भइसकेका शर्मा र नेविसंघको महामन्त्री हुँदै सांसद र मन्त्री भइसकेका थापालाई ‘कांग्रेसको भावी अनुहार’ मान्नेहरू धेरै छन् । गगन र विश्वप्रकाशको उम्मेदवारीले कांग्रेसको महाधिवेशनको सन्दर्भमा नयाँ तरङ्ग ल्याएको छ ।

अहिलेसम्मको विधानको व्यवस्थाअनुसार कांग्रेसमा महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुनेछन् । यसपटकदेखि सभापतिले मनोनयन गर्ने महामन्त्रीको कोटाको साटो दुवै महामन्त्री चुनावबाटै चुनिने प्रावधान राखिएको छ । तर‚ धेरैवटा गुट हुने देखिएको कांग्रेस महाधिवेशनमा महामन्त्रीका उम्मेदवार त्यसको दोब्बर हुनेछन् । जसमध्ये दुईजना चुनिनेछन् । त्यसो हुँदा गुट, भेग, पुस्ता, नाराजस्ता धेरै कुरा मिलाउँदा चुनिने २ जना नेता को हुन्छन्‚ अहिल्यै आकलन गरिहाल्न सकिँदैन । कम्तीमा टिमकै उम्मेदवार तय भइसकेपछि र मैदानमा कति टिम हुन्छन् भन्ने तय भइसकेपछि भने एकखालको चित्र आउनेछ ।

त्यसो त दलहरूभित्र पुस्तान्तरणको कुरा उठेको अहिले होइन । तर यो कति गाह्रो छ भन्ने कुरा यहि घानमा परेका भुक्तभोगीहरूले मात्र बुझ्न सक्ने नेताहरू बताउँछन् । हुन पनि कांग्रेसकै कुरा गर्दा गगन-विश्वप्रकाशको पुस्ता कांग्रेसको चौथो पुस्तामा पर्छ । यो पुस्ता ५० नाघिसकेको छ । अहिले महामन्त्रीका लागि उम्मेदवारी दिइरहेको यो पुस्ताले कांग्रेसको नेतृत्वमा पुग्न अझै कति वर्ष बिताउनुपर्ने हो‚ यसै भन्न सकिने अवस्था छैन । त्यसैकारण पनि उनीहरुलाई रोक्न उनीहरूअगाडिका सबै पुस्ताले सक्दो कोसिस गर्नेछ । यसपटक उनीहरूले महामन्त्री जिते भने निश्चित छ कि उनीहरू अर्को महाधिवेशनमा सभापतिको उम्मेदवार बन्नेछन् । र‚ त्यसो हुँदा अहिले उनीहरूका ‘दाइ’ पुस्ताका नेताहरू घोषणै नगरी रिटायर्ड हुने अवस्था आउनेछ ।

आपसी प्रतिस्पर्धा
शर्मा र थापा पार्टीभित्रका दुई युवा तथा लोकप्रिय नेता भएपनि स्वभाविक रुपमा उनीहरूबीच आन्तरिक प्रतिस्पर्धाको अवस्था पनि छ । महामन्त्रीको पद सभापतिका लागि आधारभूमी तय गर्ने पद पनि भएकाले त्यसमा उनीहरूले आफूमात्र जित्ने र अर्कोलाई हराउने रणनीति बनाउन सक्छन् । त्यसका साथै कुनै न कुनै गुटको आधिकारिक उम्मेदवार हुनैपर्ने भएकाले ‘फ्लोर क्रस’ गराएर ‘एक मत मलाई‚ अर्को तिमीलाई’ गराउने सम्भावना पनि कममात्र रहन्छ ।

पेशागत निर्वाचनमै गुट वा संगठनको नाममा आँखा चिम्लेर रेजा लगाउने चलन हावी भएका बेला पार्टीको आन्तरिक चुनावमा गुट हावी नहुने कुरै हुँदैन । तर, महाधिवेशनको निर्णायक भनेको महाधिवेशन प्रतिनिधिहरू हुन् । महाधिवेशन प्रतिनिधिले आफ्नो गुट भन्ने कुरामात्र हेरेनन्‚ र गुटको लिस्टमा रहेका उम्मेद्वारलाई मत दिने ‘यन्त्रमानव’ जस्तो बनेनन् भने उनीहरूले फरक–फरक गुटका उम्मेदवारलाई पनि मत दिन भने सक्नेछन् । ‘दलको आन्तरिक प्रतिस्पर्धा त हो नि‚ यसमा किन गुट हेर्ने‚’ भन्ने सोचबाट महाधिवेशन प्रतिनिधि अघि बढे भने दुवैजना महामन्त्री बन्ने सम्भावना पनि रहन्छ । यसलाई कुन गुटले जित्ने र हार्ने भन्ने ‘ईगो’का पिछलग्गुमात्र बनाइएको अवस्थामा कुनै एकजनाले मात्र जित्न वा एकैजनाले नजित्न पनि सक्छन् ।

महामन्त्रीका बाँकी उम्मेदवार घोषणा हुन बाँकी नै छन् । कुन कुन टिमबाट को को उम्मेदवार बन्ने हुन् भन्ने तय भइनसके पनि अर्का युवा नेता प्रदीप पौडेलले पनि महामन्त्रीको उम्मेदवार बन्ने बताएका छन् ।

जे होस्‚ कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्रीको भिडन्त रोचक हुने भने पक्कापक्की छ ।

फेसबुक प्रतिक्रियाहरु