बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत ३८ जिल्लामा अधिवेशन सम्पन्न
Breaking News

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत ३८ जिल्लामा अधिवेशन सम्पन्न

जुनेली न्यूज, काठमाण्डौ | नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनअन्तर्गत शुक्रबारदेखि प्रारम्भ भएको गाउँ÷नगर वडा अधिवेशन ३८ जिल्लामा सम्पन्न भएको छ । कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लामध्ये ती जिल्लामा वडा अधिवेशन सम्पन्न भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

अधिकांश वडामा सर्वसम्मत र केहीमा मतदानमार्फत वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । क्रियाशील सदस्यता नामावली प्रकाशित भएका जिल्लामध्ये शुक्रबार ३५ जिल्ला, शनिबार झापा र मुस्ताङ तथा आइतबार दाङमा वडा अधिवेशन सम्पन्न भएको समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिए ।
भदौ २१ गते सुनसरी, नुवाकोट, धादिङ, चितवन, ललितपुर, पाल्पा, बागलुङ, नवलपुर, सल्यान, मुगु र बैतडीमा वडा अधिवेशन भएको छ भने भदौ २२ गते गुल्मी, रोल्पा, प्युठान, कालीकोट र दार्चुला तथा भदौ २३ गते रुकुमपूर्व र रुकुमपश्चिममा अधिवेशन हुन लागेको उनले बताए ।

हालसम्म प्रदेश नं १ मा मोरङ, प्रदेश नं २ का सप्तरी, सिराहा, रौतहट, धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्सा, वाग्मती प्रदेशका सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ र रसुवा, लुम्बिनी प्रदेशका कपिलवस्तु, बाँके र बर्दिया, कर्णाली प्रदेशका डोल्पा र सुर्खेत तथा सुदूरपश्चिम प्रदेशका बाजुरा, डडेल्धुरा र कैलालीका क्रियाशील सदस्यको सूची समितिलाई प्राप्त नभएको समिति सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।

करिब नौ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ÷नगर वडा अधिवेशनका मतदाता हुन् ।

मुलुकभरका सबै छ हजार ७४३ वडामा कांगे्रसका अधिवेशन सम्पन्न हुँदा ४७ हजार २०१ पदाधिकारी र एक लाख २१ हजार ६८१ सदस्य निर्वाचित हुने समितिले जनाएको छ । यसबाहेक मनोनित हुनेको सङ्ख्या थप रहेको छ । त्यस्तै देशभरका वडाबाट एक लाख १४ हजार ५७५ क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् ।

कांग्रेसले यसअघि नै गाउँ/नगर वडा अधिवेशन भदौ १८ गते, गाउँ/नगरपालिका अधिवेशन भदौ २७, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकिसकेको छ ।

त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १०, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु