शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री देउवा, दाहाल र नेपालबीच भेटवार्ता
Breaking News

मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री देउवा, दाहाल र नेपालबीच भेटवार्ता

जुनेली न्यूज, काठमाण्डौ | प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग आइतबार बिहान परामर्श गरेका छन् ।मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गरेका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका हुन् ।

गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवा नेकपा एकीकृत समाजवादीले निर्वाचन आयोगबाट मान्यता पाएपछि मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा थिए । आयोगले यही भदौ ९ गते नेकपा एकीकृत समाजवादीले दल दर्ताको प्रमाणपत्र उपलब्ध गराइसकेको छ ।

नेताहरुबीच करिब दुई घण्टा छलफल भएको थियो । सरकार सञ्चालन र मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भएको श्रोतले जनाएको छ । देउवाले शनिबार पनि माओवादी अध्यक्ष दाहालसँग छलफल गरेका थिए । तर, मन्त्रिपरिषद् विस्तारका विषयमा सत्तारुढ दलहरुबीच कुन दलले कति मन्त्रालय लिने ? भन्ने सहमति जुटिसकेको छैन ।

‘अब छिटै केही गृहकार्य पूरा गरेर नेकपा एकीकृत समाजवादी र जसपालाई समेटेर मन्त्रिपरिषद विस्तार हुन्छ,’ देउवा निकट एक नेताले भने ।

हाल सरकारमा कांग्रेसको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा माओवादीको तर्फबाट अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसाल मात्र छन् । कांग्रेसको तर्फबाटै उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री छन् ।

फेसबुक प्रतिक्रियाहरु