मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • दार्चुला घटनाको छानविन गर्न गठित टोलीले १६ दिनसम्म पनि प्रतिवेदन बुझाउन सकेन
दुर्घटना/अपराध

दार्चुला घटनाको छानविन गर्न गठित टोलीले १६ दिनसम्म पनि प्रतिवेदन बुझाउन सकेन

जुनेली न्यूज , काठमाडौं । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काटिदिँदा दार्चुलाको ब्यास गाउँपालिका–२, मालगाउँका ३० वर्षीय जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाबारे छानविन गर्न गठित टोलीले १६ दिनसम्म पनि प्रतिवेदन बुझाउन सकेको छैन ।

गृहमन्त्री बालकृष्ण खाँणले सह–सचिव जनार्दन गौतमको नेतृत्वमा छानविन टोली गठन गर्दै १० दिनको समय दिएका थिए तर आज १६ दिन बितिसक्दा पनि प्रतिवेदन आएको छैन । घटनास्थलमा पुगेर अध्ययन गरेको टोलीले समय अभाव भएको भन्दै समितिले थप ७ दिन म्याद दिन आग्रह गर्यो । ‘त्यहीअनुसार थप ७ दिनको म्याद समितिलाई दिइएको छ’ गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने।
समितिका संयोजक गौतम भन्छन्, ‘प्रतिवेदनको विषयमा छलफल भइरहेको छ, भोलि बुझाउन नसकिए म्याद थपका लागि आग्रह गर्छौं ।’
अनुसन्धान, सूचना र तथ्य संकलन जारी रहेको अवस्थामा ठोस विश्लेषणका लागि समय लाग्न सक्ने गौतमले बताए ।

गृहमन्त्रालयका एक उच्च अधिकारीले पनि एसएसबीले अरु बेला पनि डोरी फुकाउने गरेको र हालै भएको घटनामा संयोगले मान्छे तुइनमा गएकाले दुर्घटना भएको देखिएको दाबी गरे ।
तर प्रत्यक्षदर्शी कल्याणसिंह धामीले नदी तर्न डेढ मिटर मात्रै बाँकी रहँदा एसएसबीले डोरी निकालिदिएको बताउँछन् । ‘मैले मान्छे छ, ननिकाल्दिनु भनिरहेको थिएँ’ भने, ‘तर एसएसबीले टेरेन ।’

टोलीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशकुमार श्रेष्ठ र दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट भने सुदूरपश्चिममै छन् । छानविन टोलीको नेतृत्व गरेका गृह मन्त्रालयका सह–सचिव गौतम भने अहिले काठमाडौं आएका छन् ।

गृहमन्त्री खाँणले समितिले दिने प्रतिवेदन नै सरकारको अन्तिम धारणा हुने बताइरहेका छन् । त्यसैले उच्च सरकारी स्तरमा छलफलपछि मात्रै निष्कर्षमा पुग्ने ती सदस्यको दाबी छ ।

 

फेसबुक प्रतिक्रियाहरु