शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • मोरङका सुभाष तामाङले आफ्नो मृत्यु दर्ता खारेज गरी पाँच वर्षपछि पाए नागरिकता
Breaking News

मोरङका सुभाष तामाङले आफ्नो मृत्यु दर्ता खारेज गरी पाँच वर्षपछि पाए नागरिकता

जुलेनी न्यूज, काठमाण्डौ ।२०७२ साल असारमा साउदी अरबमा दुर्घटनामा परेका मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका ४० वर्षीय सुभाष तामाङले बिहीबार नेपाली नागरिकताको प्रतिलिपी प्राप्त गरेका छन् ।उनको मृत्यु भयो भन्दै शव आएपछि आफन्तले अन्त्येष्टि गरी २०७२ साउन ६ गते मृत्यु दर्ता गरेका थिए । तर दुर्घटनाको एक वर्षपछि उनी जीवितै घर फर्किए । जिउँदो हुँदाहुँदै मृत्यु भयो भनेर काजकिरिया गरिएका तामाङले मृत्यु दर्ता खारेज गरी पाँच वर्षपछि नागरिकता पाएका छन् ।

 

तामाङको बिहीबार मृत्यु दर्ता खारेज गरी मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले नागरिकताको प्रतिलिपी प्रदान गरेका हुन् । ‘राष्ट्रिय परिचयपत्र एवं पञ्जीकरण ऐन २०७६ को दफा २४ अनुसार मृत्यु दर्ता खारेज गरी नागरिकताको प्रतिलिपी दिइएको छ,’ प्रजिअ निरौलाले भने ।

वैदेशिक रोजगारीका क्रममा साउदीमा रहेका सुभाष २०७२ साल असार २५ गते दुर्घटनामा परेका थिए दुर्घटनाको २८ दिनमा सुभाषको भनेर शव नेपाल आएपनि त्यो सव सुभाषको थिएन तर उता उसको परिवारले धार्मिक संस्कार अनुसार अन्तिम संस्कार गरेका थिए ।

उक्त शव सुभाषको नभएर बागलुङको ढोरपाटन–६ का तेजेन्द्र भण्डारीको रहेको पुष्टि भयो । उनी कार्यरत कम्पनीको लापरबाहीका तेजेन्द्रको शवलाई सुभाषको भनेर नेपाल पठाइएको थियो ।
दुर्घटनाबाट गम्भीर घाइते भएका सुभाष उपचारपछि २०७३ सालमा नेपाल फर्किएका थिए ।

नागरिकता प्राप्त गरेपछि सुभाषले भने ‘पाँच वर्षसम्म सरकारी निकायमा धाएर बिहीबार बल्ल नागरिकता पाएँ,’

फेसबुक प्रतिक्रियाहरु