मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • महाकाली घटनाको छानबिनका लागि खटिएको गृह मन्त्रालयको टोली दार्चुलाबाट फर्कियो
दुर्घटना/अपराध

महाकाली घटनाको छानबिनका लागि खटिएको गृह मन्त्रालयको टोली दार्चुलाबाट फर्कियो

जुनेली न्यूज, काठमाण्डौ । महाकाली नदीमा तुइन तर्ने क्रममा एसएसबीले डोरी फुकाइदिएपछि खसेर युवक बेपत्ता भएको घटनाको छानबिनका लागि गृह मन्त्रालयले खटाएको सहसचिव जनार्दन गौतम नेतृत्वको टोली सोमबार दार्चुलाबाट फिर्ता भएको छ ।

१५ साउनमा भारतीय भूमिको प्रयोग गरेर सदरमुकाम खलंगा आउने बेला महाकाली नदीमा तुुइन तर्ने क्रममा भारतीय एसएसबीले डोरी फुुकालिदिएपछि खसेर व्याँस गाउँपालिका-२ का ३३ वर्षीय जयसिंह धामी बेपत्ता भएका थिए । उक्त घटनाको छानबिनका लागि गृह मन्त्रालयले सहसचिव जनार्दन गौतमको नेतृत्वमा छानबिन टोली गठन गरेको थियो ।

गौतम नेतृत्वको  टोलीले झण्डै ८ दिनसम्म दार्चुलामै बसेको टोलीले नदीमा बेपत्ता भएका व्याँस गाउँपालिका-२ का जयसिंह धामीको परिवारदेखि अन्य सरोकारावाला पक्षबीच भेटघाट गरेर छलफल गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोहरप्रसाद भट्टले छानबिनका क्रममा गर्नूपर्ने काम सकेर गृहको टोली फर्किएको बताएका छन् ।

‘जिल्लास्थित विभिन्न क्षेत्रका सरोकारवालासँग छलफल, पीडित परिवार र प्रत्यक्षदर्शीसँग बुझ्ने कामसँगै घटना स्थलको नेपाल र भारततर्फबाट स्थलगत निरीक्षणलगायतका काम सकेर सहसचिव ज्यूको नेतृत्वमा रहेको टोली फर्किएको नायब उपरीक्षक (डीएसपी) भट्टले बताए |

बेपत्ता धामीको अवस्था भने अझै अज्ञात छ । परिवारले उनी जिवितै भेटिने आशा मार्दै कुसको आकृति बनाएर हिन्दु संस्कारअनुसार दाहसंस्कार गरिसकेको छ । तर नेपाल प्रहरीसहितका तीन वटा सुरक्षा निकायले महाकाली नदीमा बेपत्ता धामीको खोजी कार्य जारी राखेका छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरिरहेका बेला प्रहरी प्रधान कार्यालयले खोजविनका लागि विशेष प्राविधिक टोली समेत खटाएको छ ।

प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालयको आग्रहमा धामीको खोजीमा सहयोग गर्न दुुई जना प्राविधिकसहितको विशेष टोली खटाएको हो ।

साथै, मौलिक जरोकीलो पार्टीका सुदूपश्चिम प्रदेश अध्यक्ष खिमानन्द जोशीले धामी नदीमा बेपत्ता भएको घटनामा भारतीय पक्षको भूमिकाको भत्र्सना गर्दै पीडित परिवारको न्यायका लागि हस्ताक्षर अभियान संलकन गरिएको जानकारी दिए ।

करीब ९ हजार हस्ताक्षर संकलन गरेर सरकारलाई बुुझाउने योजना रहेको उनी बताउँछन् ।

फेसबुक प्रतिक्रियाहरु