शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • एमबीबीएस प्रवेश परीक्षामा धनुषाका आशिक झा सर्वोत्कृष्ट
शिक्षा

एमबीबीएस प्रवेश परीक्षामा धनुषाका आशिक झा सर्वोत्कृष्ट

जुनेली न्यूज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शुक्रबार सार्वजनिक गरेको  एमबीबीएस प्रवेश परीक्षाको नतिजामा  २ सय पूर्णांकमा १ सय ८६ अंक प्राप्त गरेर धनुषाका आशिक झा सर्वोत्कृष्ट भएका छन् ।

आयोगले पहिलो पटक एमबीबीएसका लागि एकीकृत परीक्षा लिएको हो । यसअघि विश्वविद्यालय फरक-फरक परीक्षा लिँदै आएको थियो ।

उत्कृष्ट भएपछि चिकित्सा शिक्षा अध्ययनका निम्ति सरकारले प्रदान गर्ने पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन् ।

आयोगले एमबीबीएस प्रवेश परीक्षाका लागि देशभरिबाट ११ हजार सहभागी विद्यार्थीलाई उन्छिदै आशिकले उत्कृष्ट हुन सफल भएका हुन् । सर्वोत्कृष्ट भएपछि आशिकले भने  ‘सर्वोत्कृष्ट हुनको लागि भन्दा पनि राम्रो अंक लिएर पास गर्ने सोँचले धेरै मेहेनत गरेको थिएँ । अब थप मेहेनत गर्ने ऊर्जा मिलेको छ ।’

विज्ञान विषय लिएर कक्षा ११ र १२ लिएर त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालय पढेका आशिकले २०७७ ब्याचका कक्षा १२ मा समेत उत्कृष्ट अंक लिएर उत्तीर्ण भएका थिए । सामान्य परिवारका आशिकले जनकपुरको श्री माध्यमिक विद्यालयबाट ३ दशमलव ७ जीपीएसहित एसईई उत्तीर्ण गरेका थिए ।

विश्व निकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलले आशिकको सफलताले सामुदायिक विद्यालयप्रतिको धारणा सकारात्मक परिवर्तन गराउन पनि सहयोग पुग्ने बताए ।

उनले भने ‘आशिक अत्यन्तै सिर्जनशील र मेहनती विद्यार्थी हुन् । उनको सफलताले सामुदायिक विद्यालयप्रतिको धारणा सकारात्मक परिवर्तन गर्न, महत्वपूर्ण भूमिका खेल्नेछ ।’ सर्वोत्कृष्ट बनेपछि विद्यालयले उनलाई सम्मान गरेको छ ।

आयोगले साउन ९ देखि १३ गतेसम्म उपत्यकामा २८, धरानमा ६, चितवनमा ६, पोखरा र नेपालगञ्जमा दुई दुई स्थानमा परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु