आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि
दुर्घटना/अपराध

भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि

माघ २६,

काठमाडौं । बैतडीको दोगडाकेदार नगरपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । जिल्ला अस्पताल, बैतडीमा गरिएको पोष्टमार्टमबाट भट्टको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको हो ।

जिल्ला प्रहरी कार्यालय, बैतडी स्रोतका अनुसार पोष्टमार्टममा संलग्न चिकित्सकहरुले भट्टको बलात्कार भएको देखिएको बताएका छन् । प्रतिकार गर्दा शरीरका टाउको र हातमा चोट लागेको भनिएको छ । भट्टको घाँटीमा पनि निलडाम छ ।

उनको यौनांगमा पनि घाउ रहेको पाइएको एक प्रहरी अधिकृतले बताए । शरीरको विभिन्न भागमा देखिएको चोटपटकले उनलाई जबरजस्ती घिसारिएको जस्तो पनि देखिएको उनले बताए । सनातन धर्म माध्यमिक विद्यालयको कक्षा १२ मा पढ्ने भट्ट बुधबार साँझसम्म घर नफर्किएपछि आफन्तले प्रहरी र छिमेकी गुहारेका थिए ।

भट्ट विद्यालयबाट घर फर्किने बाटोमा बिहीबार बिहान मुख्य सडकबाट ५० मिटर टाढा शव भेटिएको थियो । लगत्तै तालिम प्राप्त कुकुरलाई घटनास्थल लैजाँदा भट्टको मोबाइल भेटिएको थियो । प्रहरीले उनको मोबाइललाई केन्द्रमा राखेर प्राविधिक पाटोबाट अनुसन्धान अघि बढाएको छ ।

फेसबुक प्रतिक्रियाहरु