आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • कोरोना संक्रमणका कारण थप ७ जनाको मृत्यु
समाचार

कोरोना संक्रमणका कारण थप ७ जनाको मृत्यु

असोज २५,

काठमाडौं । कोरोना संक्रमणका कारण थप सात जनाको मृत्यु भएको छ । उपचारका क्रममा रुपन्देहीका चार जना र चितवनमा तीन जनाको मृत्यु भएको हो ।

रुपन्देहीमा मृत्यु हुनेहरुमध्ये तीनजना बुटवल उपमहानगरपालिकाका र एक जना तिलोत्तमा नगरपालिकाका हुन् ।

बुटवल–११ का ८४ वर्षीय पुरुषको उपचारका लागि लैजाने क्रममा कपिलवस्तुको धानखोलामा मृत्यु भएको हो । उनी मुटुका दीर्घरोगी थिए ।

यस्तै बुटवल ११ की ६१ वर्षीया महिलाको पनि उपचारको क्रममा कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएको छ । उनमा श्वासप्रश्वासको समस्या थियो ।

बुटवल–१ का ७० वर्षीय पुरुषको गएराति १० बजे धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालको आईसीयू कक्षमा मृत्यु भएको छ ।

त्यसैगरी रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ निवासी ६६ वर्षीया कोराना संक्रमित महिलाको हिजो दाङको बेलुझण्डीस्थित कोरोना विशेष अस्पताल मृत्यु भएको छ ।

यता चितवनमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत दुई जना र भरतपुर अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

चितवन मेडिकल कलेजमा उपचार गराइरहेका मकवानपुरको बागमती– ६ निवासी ८५ वर्षीया महिलाको हिजो साँझ मृत्यु भएको हो ।

असोज १५ गते अस्पताल भर्ना भएकी ती महिलामा असोज २० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै सोही अस्पतालमा उपचार गराइरहेका सर्लाही, हरिवन–१० का ३८ वर्षीय पुरुषको मृत्यु भएको छ । कोभिड आइसीयूमा उपचाररत ती पुरुषको हिजो साँझ मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।

उता भरतपुर अस्पतालमा पनि एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएर अस्पतालमा उपचार गराइरहेका भरपतुर– १ का ४७ वर्षीय पुरुषको हिजो बेलुका मृत्यु भएको अस्पतालले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु