बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • कोरोना संक्रमणबाट थप तीन नजाको मृत्यु
समाचार

कोरोना संक्रमणबाट थप तीन नजाको मृत्यु

असोज १९

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीको धरान–१५ घर भएका ५५ वर्षीय पुरुषको आज बिहान पौने सात बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए ।

यही असोज १६ गते प्रतिष्ठानमै गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । ती पुरुषमा पहिलेदेखि नै मिर्गौलाको र हाइपरटेन्सनको समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।

त्यस्तै विराटनगरको विराटनर्सिङ होम (विराटनगर अस्पताल) बाट हाम्फालेका बिरामीको मृत्यु भएको छ । अस्पतालको दुई तलामाथिबाट हामफालेका मोरङको मिक्लाजुङ गाउँपालिका-३ का ५३ वर्षीय अमृत गजमेरको मृत्यु भएको हो ।

गजमेर आईसीयूमा उपचाररत थिए । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काका अनुसार गजमेर १७ असोजमा अस्पताल भर्ना भएका थिए ।

फोक्सोमा गम्भीर समस्या देखिएको भन्दै चिकित्सकको सल्लाहमा उनलाई आईसीयूमा भर्ना गरिएको थियो । आईसीयूबाट गर्मी भएको बहाना बनाउँदै बाहिर निस्किएका गजमेरले आज (सोमबार)बिहान ५ः३० बजेतिर दुई तलामाथिबाट हामफालेको जानकारी अस्पतालले प्रहरीलाई गराएको छ । गजमेरको उपचारका क्रममा ९ बजेतिर मृत्यु भएको हो । मृत्यु अस्वभाविक देखिएका कारण घटनाको अनुसन्धान थालिएको उनले बताए ।

त्यस्तै कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट रुपन्देहीमा थप एक जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएकी बुटवल उपहानगरपालिका-१३ की ६५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो ।

ज्वरो, श्वासप्रश्वासको समस्या लिएर आइतबार बिहान अस्पतालको फिभर क्लिनिकमा भर्ना भएकी उनको उपचारका क्रममा साँझ मृत्यु भएको थियो । सोमबार आएको उनको पीसीआर टेष्टको रिपोर्ट पोजेटिभ रहेको अस्पतालले जनाएको छ ।

 

 

फेसबुक प्रतिक्रियाहरु