शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • उड्नथाले सात बन्दपछि आन्तरिक उडान, यात्रुले पालना गर्नुपर्छ यस्ता नियम !
समाचार

उड्नथाले सात बन्दपछि आन्तरिक उडान, यात्रुले पालना गर्नुपर्छ यस्ता नियम !

असोज ५,
काठमाण्डाै । बन्द भएको सात महिनापछि आज ( सोमबार) देखि आन्तरिक उडान सुरु भएका छन् । गएको चैत ९ गतेदेखि बन्द भएका आन्तरिक जहाजले आज बिहानैदेखि देशका विभिन्न ठाउँमा उडान भर्न थालिसकेका छन् । खासमा सरकारले असोज १ गतेदेखि नै लामो दूरीका गाडी र आन्तरिक जहाज उडाउन पाउने निर्णय गरेको थियो ।

तर कुल उडान क्षमताको २५ प्रतिशत मात्रै उडान गर्नुपर्ने प्रावधानको साथमा कुल सिटको आधा क्षमतामा मात्रै यात्रु बोक्ने पाइने निर्णय थपिएपछि वायुसेवा सञ्चालक संघले जहाज नउडाउने निर्णय गरेका थिए । उनीहरुले सुरक्षाका पूर्ण मापदण्ड पालना गर्ने/गराउने तर सबै सिट भरेर उडान गर्न पाउने माग गरेका थिए ।

वायुसेवा सञ्चालकको माग संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिपरिषदबाट पारित गराइसकेको छ । आजदेखि नौ दिनसम्म कुल उडानको २५ देखि ३० प्रतिशतसम्म जहाज उड्नेछन् तर पूर्ण सिट क्षमतामै जहाज उड्नेछन् ।

विमानस्थल, जहाजका कर्मचारी र यात्रुले पालना गर्नुपर्नेछ यी नियम

नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरोना महामारीको बीचमा हुने उडानको लागि निर्देशिका बनाएको छ, विभिन्न जहाज कम्पनीले पनि मापदण्ड बनाएका छन । उनीहरुले पूर्ण सतर्कताका साथ उडान हुने दाबी गरेका छन् ।
चैत ९ गतेदेखि बन्द रहेका आन्तरिक उडान सुरु गर्न विमानस्थल र हवाई कम्पनी तम्तयार अवस्थामा छन् । कोरोनाबाट बच्दै र बचाउँदै उडान सुरु गरेको उनीहरुको दाबी छ ।

अहिले पनि विदेशीहरु नेपालबाट गइरहेको र उद्धार उडानमार्फत नेपाली आइरहेकाले विमानस्थलमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नै भएका छन् । आजदेखि थप कडाइ भएको छ । मास्क नलगाएका व्यक्तिलाई विमानस्थलको मूल गेटबाट नै प्रवेशमा रोक लगाइने छ । एक सय चार डिग्री फरेनहाइट ज्वरो भएका, रुखाखोकी र स्वाद र सुँघ्ने क्षमता कम भएका व्यक्तिलाई विमानस्थलभित्र प्रवेशमा रोक लगाइएको छ ।

७० वर्ष माथिका व्यक्ति, गम्भीर रोग लागेका र गर्भवतीलाई सकभर जहाज नचढ्न प्राधिकरणले आग्रह गरेको छ । हरेक यात्रुले आफुमा कोरोना नभएको स्वघोषणासहित सबै विवरणसहितको फारम भर्नु पर्नेछ । विमानस्थल परिसरमा एक मिटरको दूरी अनिवार्य कायम गर्नु पर्नेछ ।

विमानस्थलभित्रका एअरलाइन्सका काउन्टरमा सिसा लगाइएको छ । यात्रु उभिनको लागि रेखा कोरिएको छ । आगमन र प्रस्थान कक्षको बस्ने ठाउँमा एउटा कुर्सी खाली राखेर मात्रै बस्नुपर्नेछ । विमानस्थल र हवाई कम्पनीका कर्मचारीले मास्कको साथमा पञ्जा, भाइजर र पीपीई अनिवार्य रुपमा लगाउने छन् । ठाउँ–ठाउँमा स्यानिटाइजर राखिएको छ । प्रस्थान कक्षबाट जहाजसम्म यात्रु लैजाने बसलाई हरेक पल्ट नि–सङ्क्रमण गर्नुपर्नेछ । जहाजलाई पनि उडान पिच्छे नि–सङ्क्रमण गराउनुपर्नेछ । जहाजमा पाइलट र बिमान परिचालिकाले मास्क, भाइजर र पीपीई लगाउनेछन् ।

आन्तरिक जहाजभित्र खाना र खाजा निषेध गरिएको छ । जहाजको शौचालय पनि बन्द हुनेछ । कुकुर र बिरालो बोक्न पाइने छैन । समाचारपत्र पनि बोक्न पाइने छैन । स्वास्थ्य सुरक्षा सतर्कता नअपनाउने र जहाजका कर्मचारीसँग विवाद गरेमा यात्रुलाई तत्कालै कारबाही हुनेछ ।

फेसबुक प्रतिक्रियाहरु